नारायणघाट बुटवल सडकको विकास खर्च ३६.५२ प्रतिशत मात्रै

NAWALPUR TIMES
प्रकाशित : २०८० साउन ७ गते १०:३०
नारायणघाट बुटवल सडकको विकास खर्च ३६.५२ प्रतिशत मात्रै

कावासोती । आर्थिक वर्ष २०७९/८० मा नारायणघाट बुटवल सडक आयोजनाले प्राप्त बजेटको ३६.५२ प्रतिशत मात्रै बजेट अर्थात विकास खर्च गर्न सफल भएको छ ।

दुई खण्डमा विभाजन गरेर ठेक्का गरिएको यो सडकक्को दुवै खण्डका लागि गत आर्थिक वर्षमा पुँजीगततर्फ ७ अर्ब ४९ करोड ७३ लाख रुपैयाँ विनियोजन भएको थियो । यसमा ३६.५२ प्रतिशत अर्थात् २ अर्ब ७३ करोड ७७ लाख रुपैयाँ खर्च भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ  । उक्त सडक विस्तार ठेक्काको म्याद भदौ ११ मा सकिँदै छ । तर अहिलेसम्म भौतिक प्रगति ४० प्रतिशत मात्र छ ।

काम नगर्ने ठेकेदारले तेस्रो पटक दुई वर्ष म्याद थपको प्रस्ताव गरेको छ । यस सडकको कुल दूरी ११३ किमि छ । दुई खण्ड गरेर कुल ठेक्का रकम १६ अर्ब ९९ करोड रुपैयाँ हो ।

चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन कम्पनीले यसको ठेक्का लिएको हो । उक्त कम्पनी जताततै ठेक्का लिएर काम अलपत्र पार्नेमा पर्छ । यो खण्डमा पटक/पटक आयोजना प्रमुख, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलगायत सरोकारवाला निकायले काम सक्न दबाब दिए पनि अझै सकिएको छैन । काम नगरेपछि सडक विभागले ठेक्का तोड्ने चेतावनी दिए पनि अहिले उक्त निर्णयबाट पछि हटेको छ ।

असार मसान्तसम्म ४० प्रतिशत भौतिक प्रगति गरेको आयोजनाको थप गरिएको एक वर्षको समय आउदो भदौ ११ गते सकिदै छ । थपिएको समयमा काम सम्पन्न गर्न नसक्ने भए पछि निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन कम्पनीले थप २ वर्षको म्याद थपको माग गरेको छ ।

प्रकाशित : २०८० साउन ७ गते १०:३०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI