नवलपुरमा विपद ब्यवस्थापन नमूना अभ्यास

NAWALPUR TIMES
प्रकाशित : २०८० असार २२ गते २०:५४
नवलपुरमा विपद ब्यवस्थापन नमूना अभ्यास
Screenshot 20230707 204838 Messenger

नेपाली सेनाको अगुवाइमा नवलपुरमा विपद् व्यवस्थापन नमूना अभ्यास गरिएको छ । बर्षाको समयमा हुनसक्ने विभिन्न विपद्का घटनालाई मध्यनजर गर्दै उक्त नमूना अभ्यास गरिएको हो । कावासोतीको पिठौलीस्थित नारायणी नदीमा नेपाली सेनाले उद्धार तथा व्यवस्थापनको अभ्यास गरेका हुन ।

उद्धारसँगै प्राथमिक उपचारसहित कसरी अस्पतालसम्म लैजाने भनेर नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखाका रेडक्रसकर्मी र मध्यविन्दु जिल्ला अस्पतालका चिकित्सकको टोलीले अभ्याससहित जानकारी प्रदान गरेका छन् । मनसुन सक्रिय हुँदै गर्दा जिल्लाभर बाढी, पहिराको जोखिम हुने सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्नका लागि विपद्पूर्वका तयारी गरिएको हो । जिल्लाका आठवटै पालिकामा अति सङ्कटासन्न, मध्यम सङ्कटापन्न र सङ्कटासन्न गरी तीन तहमा वर्गीकरण गरी मनसुनपूर्व तयारी र प्रतिकार योजना बनाइएको छ । नेपाल सरकारबाट उद्धार, राहतका लागि आवश्यक सामग्री सुरक्षाकर्मीलाई उपलब्ध गराउने कार्य भइसकेको जिल्ला प्रशासन कार्यालय नवलपुरले जनाएको छ ।

आज भएको नमूना अभ्यासमा वर्षाको समयमा बाढीमा मानिस बगाए, डुबान क्षेत्रमा मानिस घेरिए कसरी उद्धार गर्ने तथा पहिराका घटना हुँदा त्यसमा फसेका मानिसको उद्धार तथा व्यवस्थापन कसरी गर्ने भन्ने अभ्यास गरिएको छ । अभ्यासले उद्धार टोलीलाई विपद्को समयमा सहज व्यवस्थापन गर्न सहयोग गर्नाका साथै अन्य सरोकारवाला र सर्वसाधारणलाई समेत बाढी, पहिराबाट कसरी मानिसलाई जोगाउन सकिन्छ भन्ने जानकारी प्राप्त हुनेछ ।

प्रकाशित : २०८० असार २२ गते २०:५४
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI