बुटवल नारायणघाट सडकको पूर्वी खण्डको भौतिक प्रगति ३८ प्रतिशत मात्रै

NAWALPUR TIMES

बुटवल नारायणघाट सडकको पूर्वी खण्डको भौतिक प्रगति ३८ प्रतिशत मात्रै
butwal narayanghat road

सन्जय भट्टराई/कावासोती ।
बुटवल नारायणघाट सडकको पूर्वी खण्ड गैँडाकोट देखि दाउन्ने सम्म ६४.४२ किलो मिटरको भौतिक प्रगती ३८.५९ प्रतिशत मात्रै पुगेको छ ।

म्याद थप गरिएको समय सकिन २ महिना बाकी रहदाँ आयोजनाको पूर्वी खण्डको भौतिक प्रगती ३८.५९ प्रतिशत मात्रै पुगेको आयोजना गैँडाकोटमा रहेको आयोजनाको पूर्वी खण्ड हेर्न कार्यालयका सूचना अधिकारी एवं ईन्जिनियर धिरज ढकाले बताए ।

गत वर्ष साउनमा आयोजनाको म्याद सकिए पछि आयोजनाको म्याद भदौ ११ गते देखि लागू हुने गरि थप १ वर्षका लागि थपिएको थियो । निर्माण कम्पनी चाईना स्टेट ईन्जिनियरिङ कर्पोरेसनले निर्माण कार्यलाई तिब्रता दिने शर्तमा म्याद थप गरिए पनि आयोजनाको थप गरिएको म्याद सकिन २ महिना मात्रै बाकी रहदा आयोजनाको पुर्वी खण्डमाभौतिक प्रगति मात्रै ३८.५९ प्रतिशत पुगेको हो ।

आयोजनाको म्याद थप गरिए पछि पुर्वी खण्डको कावासोती देखि लोकाहा र झराही खोला पुर्व भेडाबारी सम्म गरेर विभिन्न स्थानमा १३ किलोमीटर कालोपत्रेको काम सकिएको छ भने थप केही किलोमीटर क्षेत्रमा कालोपत्रेको काम अगाडि बढाईएको ईन्जिनियर ढकालले बताए । ईन्जिनियर ढकालका अनुसार पुर्वी खण्डका २२ वटा साना पुल मध्ये १८ वटाको काम पुर्ण रुपमा सकिएको, ३ वटा मा २ लेनको काम सकिएको र १ वटा पुलमा कामनै सुरुनै नभएको हो । त्यसैगरी पुर्वी खण्डमा पर्ने १२ वटा ठुला पुल मध्य ९ वटामा सब स्टकचरको काम सकिएको तथा ३ वटा मा सब स्टकचरको काम हुन बाकी रहेको ढकालले बताए ।

विषेश गरेर पुर्वी खण्डका मुख्य बजारहरु गैंडाकोट, दलदले, कावासोती, डण्डा, चोरमारा, अरुणखोला र दुम्किबास क्षेत्रमा बिजुलीका पोल सार्ने कामले खासै गति लिन सकेको छैन । बजार क्षेत्रमा रहेका पोलहरु सारेर कामलाई तिब्रता दिन सडक विभागले ताकेता गरिरहेको बताउदै ईन्जिनियर ढकालले निर्माण कम्पनी चाईना स्टेट ईन्जिनियरिङ कर्पोरेसन निर्माण क्षेत्रको काम गर्ने कम्पनी भएकाले विद्युतका पोल सार्ने काममा केही ढिलाई भएको बताउछ्न ।

ईन्जिनियर ढकालका अनुसार आयोजनाले पुर्वीको दुम्किबास देखि दाउन्ने सम्मको पहाडी क्षेत्रमा खासै देखिने गरि काम गरेको छैन । उनका अनुसार यो क्षेत्रमा सामान्य रुपमा डाँडा काटने र बाल लगाउने बाहेक थप काम नभएको हो ।

सरकारले गत भदौमा थप गरेको भदौ ११ गते सम्मको म्याद सकिनै लाग्दा आयोजनाले भने थप डेढ देखि २ वर्ष म्याद थपका लागि सडक विभागमा निवेदन दिएको आयोजनाका पुर्वी खण्डका प्रोजेक्ट म्यानेजर राकेश झाले बताए । झाका अनुसार निर्माण कम्पनीले २ वर्ष म्याद थप पाए काम सम्पन्न हुने प्रतिबद्धता व्यक्त गरेर सडक विभाग मार्फत सरकारलाई आग्रह गरेको छ ।

निर्माण कम्पनीले म्याद थपको विषयमा लिखित आग्रह गरेको तर यो विषयमा निर्णय हुन भने बाकी रहेको आयोजनाको गैंडाकोटमा कार्यालय रहेको पूर्वी खण्ड हेर्न सडक विभागका ईन्जिनियर एवं सूचना अधिकारी धिरज ढकाले बताए । आयोजनाले म्याद थपको प्रस्ताव गरेको र कन्सल्टयान्ट कम्पनीको राय र सडक विभागको स्थलगत अनुगमन पछि मात्रै म्याद थपको विषयमा निर्णय हुने ईन्जिनियर ढकाल बताउछन ।

चाईना स्टेट ईन्जिनियरिङ कर्पोरेसनले गैंडाकोटको नारायणी नदि पुल देखि बुटवल सम्म ११५ किलो मिटर सडक आयोजनालाई २ खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो । नवलपुरको गैंडाकोटदेखि दाउन्नेसम्म ६४.४२ किलोमिटर सडकलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको ४८.५८ किलोमिटर लाई खण्ड‘ख’ अन्तर्गत राखिएको सडक बस्ती क्षेत्रमा छ लेन र जङ्गल क्षेत्रमा चार लेन तथा दाउन्नेमा तीन लेन विस्तार गर्ने गरी एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा कूल रु १६ अर्ब ९९ करोड ५२ लाख लागतमा राजमार्गकोे विस्तार गरिरहेको छ ।

लागतको ८५ प्रतिशत रकम एडिबीले ऋण उपलब्ध गराएको छ भने बाँकी सरकारकै लगानीमा काम हुने आयोजनाले जनाएको छ । एडिबीले एक दशमलव पाँच प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो ।

साढे तीन वर्षमा सडक निर्माणको काम सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्ने गरी सम्झौता भएपछि विसं २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology