बुटवल- नारायणगढ सडकमा डेढ वर्ष म्याद थपिदिन ठेकेदारको माग

NAWALPUR TIMES

बुटवल- नारायणगढ सडकमा डेढ वर्ष म्याद थपिदिन ठेकेदारको माग
1683476478351

नारायण शर्मा/कावासोती
महेन्द्र राजमार्गअन्तर्गत  बुटवल- नारायणगढ  सडक विस्तारमा २६ प्रतिशत मात्रै काम सम्पन्न गरेको चिनियाँ ठेकेदारले फेरि डेढ वर्ष म्याद थप्न माग गरेको छ । ठेक्का पाएको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन ले आउँदो भदौ २२ गतेसम्म काम सम्पन्न गर्ने प्रतिबद्धता जनाउँदै यसअघि दोस्रो पटक म्याद थप गरेको थियो ।

थपिएको अवधिमा थप २ प्रतिशत मात्र काम गरेको ठेकेदार कम्पनीले अब फेरि डेढ वर्ष म्याद थप्न सडक विभागसँग माग गरेको छ । चिनियाँ ठेकेदार कम्पनीका कन्सल्टयान्ट इन्जिनियर राकेश झाले म्याद थपका लागि सम्वद्ध पक्षसँग सम्वाद भइरहेको जानकारी दिए । कोरोना कालमा करिब डेढ वर्ष कामै नभएका कारण पटक पटक म्याद थप्न परेको उनले दावी गरे । सडक विभागका दाउन्ने गैडाकोट खण्डका प्रमुख इन्जिनियर आषिश थापा मगरले म्याद थप्ने बारे चिनियाँ ठेकेदारले कन्सल्टयान्ट इन्जिनियर मार्फत प्रस्ताव गरेको बताए । सडक निर्माणको लागत नबढ्नेगरी म्याद थपबारे छलफल भएको उनले बताए ।

बुटवल- नारायणगढ सडक खण्डको दाउन्ने डाँडादेखि पश्चिम एक भाग र दाउन्ने देखि पूर्व अर्को भाग गरेर ( काम विभाजन) अघि बढाएको छ । हाल दुवै खण्डमा कछुवा गतिमा काम भैरहेको छ । दाउन्नेदेखि पूर्व गैडाकोट सम्मको क्षेत्रमा आजसम्म जम्मा ६ किलोमिटर एकतर्फी सडक पिच भएको छ । बजार क्षेत्रमा ६ लेन, जंगलमा ४ लेन र दाउन्ने पहाडमा ३ लेनको काम भइरहेको छ ।

कोरोनाका कारण काम फटाफट अघि बढ्न नसकेको बहानामा चिनियाँ ठेकेदारले पटक पटक म्याद थप्न माग गरेको छ । सडक निर्माणको गुणस्तर र निरन्तर अनुगमनको काम कोरियन कन्सल्टयान्ट ( केईसीसी)ले गर्दै आएको छ । ‘सडक विस्तारका क्रममा सडक विभागका नेपाली इन्जिनियर साक्षी बस्ने काम मात्र गर्छन्,’ इन्जिनियर थापा मगरले भने ‘सबै काम कन्सल्टयान्टले नै हेर्ने हो हामी साक्षी बस्ने हो ।सबै गुणस्तर हेर्ने मुख्य जिम्मेवारी नै कन्सल्टयान्ट इन्जिनियरको हुन्छ ।’

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology