कावासोतीका दुई जना गोरखाको हिउँ पहिरोमा फसे, उद्धारमा कठिनाई

NAWALPUR TIMES

कावासोतीका दुई जना गोरखाको हिउँ पहिरोमा फसे, उद्धारमा कठिनाई
Chumnubri 400x220 1

नारायण शर्मा/कावासोती ।

पूर्वी नवलपरासीका दुई जना उत्तरी गोरखाको हिउँ पहिरोमा फसेका छन् । गोरखाको चुमनुब्री गाउँपालिका-१ स्थित लार्केपास जान हिँडेका कावासोती निवासी सौरभ खनाल र अनिता घले हिउँ पहिरोमा फसेका हुन ।

पुर्वी नवलपरासीका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी पाएलगत्तै त्यहाँको प्रहरी टोलीलाई बुझ्न पठाएको जानकारी दिए । ‘मेरो विद्यार्थी पनि छन् त्यहाँ । उनलाई र प्रहरीकै च्यानलबाट बुझ्न भनेको छु,’ तिवारीले भने, ‘उनीहरु ट्रेकिङ गएको बेला हिउँ पहिरोमा परेको भन्ने खबर छ ।’ प्रहरी चौकीबाट १० घण्टा टाढा भएकाले त्यहाँ उद्धारमा कठिनाई भएको तिवारीले सुनाए ।

गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले उनीहरु धर्मपाटी भन्ने स्थान र लार्केपासको बीचमा फसेको जानकारी पाएकाले उद्धारका लागि टोली पठाएको बताए । प्रहरी टोली भएको स्थानबाट धेरै टाढा भएकाले खोज तथा उद्धारका लागि बिहीबार बिहान हेलिकप्टर पठाइने पनि उनले जानकारी दिए ।

गोरखाको ४० प्रतिशत भूभाग ओगट्ने गाउँपालिका हो चुमनुब्री । त्यसको पनि उत्तरतर्फ चीनको सीमा नजिक उनीहरु पुगेको अनुमान गरिएको छ । ‘आज साँझ पनि हेलिकप्टरको प्रयास गर्‍यौं तर धेरै ढिलो भएकाले पठाउन सकेनौं,’ प्रमुख जिल्ला अधिकारी भुसालले भने, ‘बिहानै उद्धारका लागि हेलिकप्टर पठाउने प्रयासमा छु ।’

उनले त्यसक्षेत्रमा हिमाल आरोहण गर्ने टोलीलाई समेत उद्धारमा खटिन भनेको सुनाए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology