हराउँदै गयो हातले गाँसेका दुनाटपरी  

NAWALPUR TIMES

     हराउँदै गयो हातले गाँसेका दुनाटपरी  
1652940594 tapari 1200x560 1

कावासोती- (रासस) ः
प्रविधिको विकास र आधुनिक जीवनशैलीका कारण पछिल्लो समय हातले गाँस्ने दुनाटपरी हराउँदै जान लागेका छन् ।

मेसिनबाट बनेका दुनाटपरीको प्रयोग तथा प्लास्टिकका थाल र सामग्री प्रयोग गर्न सजिलो हुन थालेपछि हाते दुनाटपरी लोेपोन्मुख अवस्थामा पुगेको हो । साथै नयाँ पुस्तामा दुनाटपरी लगाउने सीपको कमीका कारणले यसको प्रयोग हराउँदै गएको हो ।

धार्मिक विश्वाससँग जोडिएको परम्परागत दुनाटपरीभन्दा प्लास्टिकका भाँडाको प्रयोग बढ्न थालेपछि पाका पुस्ता चिन्तित हुन थालेका छन् ।

पूजाआजा, विवाह, व्रतबन्ध, श्राद्धलगायत कार्यमा सालको पातको दुनाटपरीको प्रयोग गर्ने प्रचलन रही आएको छ । पछिल्लो समयमा प्लास्टिकका भाँडाको प्रयोग बढेसँगै जिल्ला सहर, बजारमा मात्र नभई गाउँ घरबाटै हराउँदै जाँदा चिन्ता लागेको कावासोती–११ का ७५ वर्षीय फेमनारायण पौडेल बताउनुहुन्छ । उहाँले भन्नुभयो, “गाउँघरमा केही सानो पूजा हुँदासमेत सालको पात चोखो हुन्छ भन्दै दुनाटपरी बनाएर प्रयोग हुन्थ्यो । आफ्नै घरपरिवार तथा समाजले दुनाटपरी गासिन्थ्यो । अहिले प्लास्टिकको भाँडाले गाउँघर ओगट्दा परम्परागत दुनाटपरी हराउने अवस्थामा पुगेको छ ।”

उमेरले ८२ वर्ष पुग्नुुभएकी देवचुली–१५ की हरिमायाँ भट्टराई विवाह, पूजाआजामा समेत गाउँलेले वनमा गएर सालको पात टिपेर ल्याएर दुनाटपरी गासेर प्रयोग हुने गरे पनि अहिले युवापुस्ताले चासो नदिँदा विस्तारै दुनाटपरी हराउँदै गएको बताउनुहुन्छ । चाडपर्वमा घरमा आउने पाहुना तथा आफन्तजनलाई सालको पातको दुनाटपरीमा खानाका परिकार राखेर दिने गरे पनि अहिले आफ्नो पुस्ताले नसक्ने र युवापुस्ताले बेवास्ता गर्दा यस्ता सामग्री हराउन थालेको उहाँको गुनासोे छ ।

कावासोती–१२ की ९२ वर्षीया मनरुपा चापागाईलाई पनि दुनाटपरी हराउँदै जान लागेपछि चिन्ता लागेको छ । “पहिला पहिला सालको पात टिपेर ल्याई बाँसको सिन्काले सालको पातको दुनाटपरी गाँसिन्थ्यो, त्यतिबेला अहिलेको जसरी प्लास्टिकका भाँडा पनि हुँदैन थियो, पूजाआजामा प्रसाद यसैमा राखी खाइन्थ्यो, बाँडिन्थ्यो, आजकल मेसिनबाट बनेका दुनाटपरी र प्लास्टिकका भाँडाको प्रयोग बढ्न लाग्यो हामी पछिकाले त दुनाटपरीनै नदेख्ने हुन की भन्ने पिर लाग्छ”, उहाँले भन्नुभयो ।

केही समय पहिले सहर बजारमा समेत दुनाटपरीको प्रयोग बढ्दो थियो । विगतमा दुनाटपरी बनाएर पु¥याउने गरिएको भए पनि आजकल गाउँघरमा समेत हातले बुनेका दुनाटपरी हराउँदै गएको विगत १२ वर्षदेखि कर्मकाण्ड गराउदै आउनुभएका पण्डित रिमप्रसाद आर्चाय बताउनुहुन्छ । दसैँ, तिहारलगायतका चाडपर्व, विवाहा व्रतबन्ध विभिन्न पूजामा समेत मेसिनले बुनेका दुनाटपरी र प्लास्टिकका भाडाको प्रयोग बढेको पण्डित आर्चाय बताउनुहुन्छ । उहाँले भन्नसभयो , नयाँ पुस्तालाई पात गाँस्न सिकाउनुपर्छ । ”

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology