अब नेपाल हुदैँ वाल्मीकि आश्रम

NAWALPUR TIMES

अब नेपाल हुदैँ वाल्मीकि आश्रम
20220927 185806 scaled

कावासोती (रासस) । वाल्मीकिले संस्कृत रामायण रचना गरेको र राम–सीताका छोरा लवकुश जन्मेहुर्केको विश्वास गरिने चितवनको माडी नगरपालिकामा पर्ने वाल्मीकि आश्रममा पुग्न भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता हट्ने भएको छ ।

नारायणी नदीमा पूर्वी नवलपरासीको त्रिवेणीधाम र चितवनको माडी जोड्ने झोलुङ्गे पुलको निर्माणको काम सकिएसँगै पवित्र धार्मिकस्थल वाल्मीकि आश्रम पुग्न भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता हट्ने भएको हो । विसं २०७० को असारमा झोलुङ्गे निर्माणको सम्झौता गरिएको भए पनि विभिन्न अवरोधका कारण निर्माणले गति लिन सकेको थिएन ।

निकुञ्ज क्षेत्रमा पर्ने भएकाले पुल निर्माणको प्रक्रिया सुरु गर्न नै लामो समय लागेको थियो । पुल निर्माण भएसँगै नेपालका दुई महत्वपूर्ण धार्मिक क्षेत्र त्रिवेणीधाम र वाल्मीकि आश्रम झोलुङ्गे पुलमार्फत जोडिएका हुन् ।

झोलुङ्गे पुल निर्माण सकिए पनि पुलपारि वाल्मीकि आश्रम रहेको क्षेत्र चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको आश्रमसम्म पुग्ने ट्र्याक बन्न बाँकी रहेको  विनयीत्रिवेणी–६ का वडाध्यक्ष नुरेन्द्र शाहले बताउनुभयो । “नदी पारिको निकुञ्जको क्षेत्रमा ट्र्याक खोल्ने काम अगाडि बढेको छ, ट्र्याक खुल्ना साथ झोलुङ्गे  पुलबाट आवतजावत हुन्छ, माघे औँसी मेला अगावै नै पुलबाट आवतजावत हुने कुरामा विश्वस्त छौँ”, अध्यक्ष साहले भन्नुभयो । चितवन  राष्ट्रिय निकुञ्जको क्षेत्र भएकाले केही ढिलाइ भएको र निकुञ्जसँग समन्वय गरेर ट्र्याक खोल्न पहल भएको र अब छिट्टै काम अगाडि बढ्ने साहले बताउनुभयो ।

भौगोलिक हिसाबले चितवनको माडी नगरपालिका–१ मा रहेको वाल्मीकि आश्रम चितवनको सडक सञ्जालसँग जोडिएको छैन भने आश्रम पुग्ने जो कोहीले हिउँदमा डुङ्गा र वर्षायाममा पूर्वपश्चिम राजमार्गको बर्दघाट बजारबाट २८ किलोमिटर दक्षिणमा रहेको त्रिवेणीमा नारायणी नदीमाथि बनेको गण्डक बाँध  कटेर भारत विहार राज्यको वाल्मीकि नगर हुँदै वाल्मीकि टाइगर रिजर्भको जङ्गल पार गरेर  वाल्मीकि आश्रम  पुग्नुपर्ने बाध्यता थियो ।

भारतको बाटो प्रयोग गरेर आश्रम पुग्ने नेपाली तीर्थयात्रीलाई भारतीय सीमा सुरक्षा बलले निकै कडाइ गर्ने गरेका छन् । बाटोमा पर्ने वाल्मीकि टाइगर रिजर्भ वनपोस्टमा टिकट नै काट्नुपर्ने र भारतीय सुरक्षा पोस्टमा ठाउँठाउँमा सोधपुछ हुने हुँदा नेपाली तीर्थयात्रीलाई सहजै आश्रममा पुग्न कठिन हुने गरेको र पुल निर्माण भएसँगै नेपालकै बाटो प्रयोग गरेर आश्रममा पुग्न सहज हुने र यसले त्रिवेणी र यस क्षेत्रको धार्मिक पर्यटनमा थप टेवा पु¥याउने अध्यक्ष साहले बताउनुभयो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology