खस्कियो नेपाली क्रिकेट टोलीको वरीयता

NAWALPUR TIMES

खस्कियो नेपाली क्रिकेट टोलीको वरीयता
Nepali Cricket1648033557

काठमाडौं । आईसीसी ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरीयता सुधार गर्ने लक्ष्य बोकेर केन्या भ्रमणमा निस्किएको नेपाली क्रिकेट टोलीको वरीयता बुधबार दुई स्थान तल झरेको छ ।

आईसीसीले सार्वजनिक गरेको पुरुष ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको नयाँ वरीयताअनुसार नेपाली टोली १६औँ स्थानमा छ । केन्या भ्रमणअघि नेपाली टोली १४औँ स्थानमा थियो ।

केन्यामा नेपालले पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेलेको थियो । मंगलबार सम्पन्न शृंखलामा नेपाल ३–२ ले विजयी भयो । तर, कमजोर केन्यासँग दुई खेलमा पराजित भएपछि नेपालको वरीयता खस्किएको हो ।

‘‘यस भ्रमणमा हामीले राम्रो प्रदर्शन गर्‍यौँ भने हाम्रो वरीयतामा सुधार हुनेछ,’’ क्रिकेट टोलीको बिदाइ कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले भनेका थिए, ‘‘त्यसो भयो भने हामीलाई २०२४ को ट्वान्टी–२० विश्वकपमा छनोट हुन पनि सजिलो हुनेछ । वेस्ट इन्डिज अहिले सातौँ आठौँ स्थानमा तलमाथि भएको छ । वेस्ट इन्डिज शीर्ष आठमा रह्यो भने हामीलाई फाइदा हुनेछ । केन्या कमजोर टिम भएका कारण धेरै स्थान सुधार नभए पनि एक स्थान माथि उक्लने आशा गरेका छौँ ।’’

तर, केन्यामा कमजोर ब्याटिङ प्रदर्शनले निरन्तरता पाउँदा नेपाल दुई खेलमा पराजित भयो । पहिलो खेलमा पाँच विकेटले विजयी भएको नेपाल दोस्रो खेलमा १८ रनले पराजित भयो । दोस्रो खेलमा नेपाल १३२ रनको लक्ष्य पूरा गर्न असफल भएको थियो ।

यस्तै, तेस्रो खेल चार विकेटले जितेको नेपाल चौथो खेलमा सात रनले हारेको थियो । तेस्रो खेलमा नेपालले १०१ रनको लक्ष्य पूरा गर्न सकेको थिएन ।

अन्तिम खेलमा नेपाल ३१ रनले विजयी भयो । त्योसँगै नेपालले शृंखला ३–२ ले जितेको हो । यद्यपि, नेपालको वरीयता दुई स्थान खस्कियो । यसले सन् २०२४ को ट्वान्टी–२० विश्वकप यात्रा थप कठिन बन्ने भएको छ । केन्या भने दुई स्थान माथि उक्लिएर २८औँ स्थानमा पुगेको छ ।

केन्या भ्रमणमा नेपालले अब तीन खेलको एकदिवसीय शृंखला खेल्नेछ ।-बाह्रखरीबाट

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology