नवलपुरमा भेटियो अमेरिकी कालो गिद्ध

NAWALPUR TIMES

नारायण शर्मा/पूर्वी नवलपरासी — नेपालमा पहिलो पटक अमेरिकी कालो गिद्ध भेटिएको छ । गत मंगलबार र बुधबार कावासोतीस्थित नमुना मध्यवर्ती सामुदायिक वनमा यो प्रजातिको गिद्ध देखिएको संरक्षणकर्मीले बताएका छन् ।

दक्षिण अमेरिकाको पेरु, चिली र उरुग्वेमा मात्र देखिने यो गिद्ध यहाँको जंगलमा पहिलो पटक देखिएको संरक्षणकर्मी डिबी चौधरीले बताए । गत मंगलबार बिहान पौने ८ बजे र बुधबार बिहान पौने ११ बजे यो गिद्ध देखिएको उनले सुनाए । यहाँ डुल्ने गिद्धको बथानमा एक्कासि देखिएको अमेरिकी कालो गिद्ध एउटा मात्र थियो । बथानमा उड्दा समूह छुटेर यता आइपुगेको हुनसक्ने उनको अनुमान छ ।

चितवन निकुञ्ज अन्तर्गत कावासोतीको दक्षिण नारायणी नदी किनारमा रहेको नमुना मध्यवर्ती सामुदायिक वनमा यो गिद्ध देखिएको हो । गिद्ध भेटिएको स्थानमा गिद्ध संरक्षणका लागि स्थापना गरिएको गिद्ध रेष्टुरेन्ट ‘जटायु रेष्टुरेन्ट’ पनि छ । सोही रेष्टुरेन्ट भएको क्षेत्रमा कालो गिद्ध फेला परेको संरक्षणकर्मी चौधरीले बताए । यहाँको जंगलमा पाइने अन्य प्रजातिका गिद्धसँग कालो गिद्धका आनीबानी मिलेको पाइएको चौधरीले सुनाए । ‘कालो गिद्ध यहाँका बथानमा सँगै बस्ने र डुलफिर गर्ने गरेको छ,’ चौधरीले भने, ‘त्यो फरक रंगको गिद्ध भएपनि यहाँका रैथाने गिद्धले ठुंग्ने वा तर्साउने गरेको पाइएन ।’ निवास नजिकैको जंगलमा कालो गिद्ध देखिएपछि चौधरीले क्यामरामा कैद गरेका थिए । बिहीबार र शुक्रबार भने उक्त गिद्ध देखा नपरेको उनले सुनाए ।

जटायु रेष्टुरेन्टमा बुढ्यौली लागेका चौपाया राखिन्छ र मरेपछि गिद्धले आहारा बनाउने गरेका छन् । रेष्टुरेन्टकै कारण यस क्षेत्रमा गिद्धको संख्या बढ्दै गएको छ । प्रकृतिको कुचिकार मानिने गिद्ध संरक्षणका लागि यहाँ १४ वर्षअघि स्थापना गरिएको गिद्ध रेष्टुरेन्ट संसारकै नमुना र सफल परियोजना मानिन्छ । त्यसको सुरुवात संरक्षणकर्मी चौधरीले नै गरेका हुन् । नेपाल र दक्षिण एसियामा ९ प्रजातिका गिद्ध पाइन्छन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology