काठमाडौं । नेपाल काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाको फाइनलमा पुगेको छ । लगातार तीन जितसहित नेपाल एक खेलअघि नै फाइनलमा पुगेको हो । आफ्नो तेस्रो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई ३७ रनले पराजित गर्यो । त्रिवि क्रिकेट मैदानमा दुई सय चार रनको कठिन चुनौती पछ्याएको पीएनजीले १९.४ ओभरमा अलआउट हुँदै १६६ रनमात्र बनाउन सक्यो । पीएनजीका चार्लस अमिनीले ६२ तथा टोनी उराले ४३ रन बनाए । करण केसीले ३ ओभर ४ बलमा २१ रन दिएर ५ विकेट लिए । करण केसीले पीएनजीको पहिलो विकेट लिएसँगै टी–२० मा ५० विकेट पूरा गर्ने नेपालका दोस्रो खेलाडी बनेका छन् । यसअघि कप्तान सन्दीप लामिछानेले यो रेकर्ड बनाइसकेका छन् ।
त्यस्तै अविनाश बोहरा र सोमपाल कामीले २–२ विकेट लिए भने सन्दीप लामिछानेले १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २ सय ३ रन बनायो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ३३ बलमा ६६ रनको अर्धशतकीय इनिङ खेले ।
रोहित पौडेलले २३ बलमा ४१, आसिफ शेखले २९ बलमा ३८, डेब्यु खेलाडी मोहम्मद आदिल आलमले ११ बलमा ३ छक्का र १ चौकाको मद्धतले ३१ तथा कुशल भुर्तेलले १७ रन जोडे ।
टी–२० मा ५० औं अन्तर्राष्ट्रिय खेल खेल खेलेको नेपाल पीएनजीलाई हराएर एक खेल अगाबै फाइनल पुग्न चाहन्छ । श्रृंखलाको पहिलो खेलमा नेपालले पीएनजीलाई १५ रनले हराएको थियो । नेपालले दोस्रो खेलमा बुधबार मलेसियालाई ६ विकेटले हराएको थियो ।
शीर्ष दुईमा रहने टिमले उपाधिका लागि फाइनलमा खेल्नेछन् । नेपालले अझै मलेसियासँग खेल्न बाँकी रहेको छ । अहिलेसम्म नेपालले ६, मलेसियाले २ तथा पीएनजीले कुनै अंक जोडेको छैन ।
प्रकाशित : २०७८ चैत १७ गते १६:०२
Facebook Comment