त्रिदेशीय शृंखला : मलेसियाविरुद्ध खेल्दै नेपाल

NAWALPUR TIMES
प्रकाशित : २०७८ चैत १६ गते १०:११
त्रिदेशीय शृंखला : मलेसियाविरुद्ध खेल्दै नेपाल

काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा घरेलु टोली नेपालले आज दोस्रो खेलमा मलेसियाविरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ । शृंखलामा नेपाल र मलेसिया दुबै टोली दोस्रो जितको खोजीमा हुनेछन् । दुबैले आफ्नो पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी)लाई हराएका थिए । पीएनजीविरुद्ध नेपाल १५ रनले विजयी भएको थियो भने मलेसियाले ८ रनको विजय हासिल गरेको थियो ।

नेपाल र मलेसियाबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १२ः३० बजे सुरु हुनेछ । दुई देशको पछिल्लो पाँच खेलको नतिजा हेर्ने हो भने नेपाल बलियो देखिन्छ । नेपालले चार खेल जितेको छ भने मलेसिया एक खेलमा विजयी भएको छ ।

२०१९ जुलाईमा नेपालले मलेसिया भ्रमण गरेको थियो । दुई खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला नेपालले क्लिन स्विप गरेको थियो । २०२० फेब्रुअरीमा थाइल्यान्डको बैंककमा सम्पन्न आईसीसी ट्वान्टी–२० विश्वकप एसिया क्षेत्रिय छनोट प्रतियोगितामा भने नेपाल मलेसियासँग २२ रनले पराजित भएको थियो ।

गत वर्ष काठमाडौंमै सम्पन्न नेदरल्यान्ड्स र मलेसिया सम्मिलित त्रिदेशीय शृंखलामा भने नेपालले दुबै खेल जितेको थियो । कीर्तिपुरमा नेपालले पहिलो खेल ९ विकेटले जितेको थियो भने दोस्रो खेलमा ६९ रनको विजय हासिल गरेको थियो ।

उक्त त्रिदेशीय शृंखलापछि मलेसियाले पहिलो पटक प्रतिस्पर्धात्मक खेल खेलेको हो । नेपालका कप्तान सन्दीप लामिछानेले मलेसियाले एक वर्षपछि खेल्न लागेको भए पनि आफूले कमजोर नआक्ने बताएका छन् ।

‘‘मलेसियाले एक वर्षसम्म प्रतिस्पर्धात्मक खेल खेलेको छैन भन्ने सुनेको छु,’’ सन्दीपले मलेसियाविरुद्धको खेलबारे भने, ‘‘तर हामी उहाँहरूलाई सहज रूपमा लिदैनौँ ।’’

प्रकाशित : २०७८ चैत १६ गते १०:११
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI