काठमाडौँ — पपुवा न्युगिनी (पीएनजी) विरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्रसिंह ऐरीले शतक प्रहार गरेका छन् । शनिबार पीएनजीविरुद्ध नै अर्धशतक बनाउँदै आफ्नो व्यक्तिगत स्कोरको कीर्तिमान तोडेका दीपेन्द्रले १३६ बलमा ६ चौकासहित सय रन पूरा गरेका हुन् ।
दीपेन्द्र एक दिवसीयमा शतक बनाउने तेस्रो नेपाली खेलाडी बनेका छन् । दीपेन्द्रले सन् २०१८ को अगस्ट १ मा नेदरल्यान्ड्सविरुद्ध एकदिवसीयमा डेब्यु गरेका थिए ।
शुक्रबार मात्र रोहित पौडेलले शतक हान्दै पारस खड्काको रेकर्ड तोडेका थिए ।
सन् २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएयता पूर्वकप्तान पारस खड्काले मात्र नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाएका थिए । जतिबेला नेपालले २५५ रनको लक्ष्य पछ्याइरहँदा पारसले यूएईविरुद्ध दुबईमा शतकीय इनिङ्स खेलेका थिए ।
रोहितले १ सय ७ बल खेल्दै ७ चौका र ४ छक्का प्रहार गरी १ सय २६ रन बनाए । उनले यसअघि पारसले बनाएको कीर्तिमान १ सय १५ रनको स्कोरलाई मात्र उछिनेनन्, नेपालबाट सबैखाले अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक व्यक्तिगत उच्च स्कोरको कीर्तिमान बनाए । कनिष्क चौगाईंले २००३ मा पाकिस्तानको कराँचीमा एसीसी यू–१९ कपमा माल्दिभ्सविरुद्ध १ सय २५ रन बनाएका थिए ।
प्रकाशित : २०७८ चैत १२ गते १२:३७
Facebook Comment