विश्व कप लिग-२ः आज नेपाल र पीएनजी भिड्दै

NAWALPUR TIMES

विश्व कप लिग-२ः आज नेपाल र पीएनजी भिड्दै
cricket nepali team GErc0y1zOW2022 02 18 03 32 28

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय शृंखलामा नेपालले आज बुधबार पपुवा न्युगिनी (पीएनजी) विरुद्ध प्रतिस्पर्धा गर्दैछ । संयुक्त अरब इमिरेट्स (यूएई)को सारजाहमा खेल सवा ११ बजे सुरु हुनेछ ।

नेपाल पीएनजीलाई हराउँदै शृङ्खलामा सुखद सुरुआत गर्न चाहन्छ । पीएनजी पनि नेपाललाई हराएर पहिलो जित निकाल्ने दाउमा छ ।

नेपाल पहिलो पटक सन्दीप लामिछानेको कप्तानीमा एकदिवसीय खेल खेल्दैछ । नेपालले यस अघि पीएनजीविरुद्ध खेलेको दुबै एकदिवसीय आफ्नो पक्षमा पारेको छ ।

शृंखला अघि नेपालले श्रीलंकामा चार अभ्यास खेल खेलेको थियो । तीन खेल जित्दा एकमा हार बेहोरेको छ ।

लिग२ मा नेपालले ८ खेलमा ८ अंक जोडेर छैटौं स्थानमा छ । अंकविहीन पीएनजी १३ खेल खेल्दै पुछारमा छ ।

त्रिदेशीय सिरिजमा नेपालले पीएनजीसँगै घरेलु टोली यूएईसँग खेल्नेछ। मंगलबारबाटै सुरु भएको सिरिजमा आयोजक यूएईले पीएनजीलाई सात विकेटले पराजित गरेको छ। पीएनजी यस प्रतियोगितामा एउटै खेल नजित्ने पहिलो टोली हो।

टी–२० क्रिकेटमा जमिरहेको नेपालका लागि ५० ओभरको खेल चुनौतीपूर्ण देखिएको छ। पीएनजी तुलनात्मक रुपमा कमजोर देखिए पनि यूएई नेपालका लागि बलियो प्रतिद्वन्द्वी हो। नेपालले पीएनजीसँग अहिलेसम्म दुई वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको छ।

दुवै खेलमा नेपाल विजयी भएको थियो। त्यसैले बुधबार नेपालले पीएनजीमाथि सुखद नजिता निकाल्ने लक्ष्यमा छ। सिरजमा नेपालले मार्च १८ मा यूएई, मार्च २१ मा पुनः यूएई र मार्च २२ मा पीएनजीसँग प्रतिस्पर्धा गर्नेछ।

लिग–२ मा नेपालले आठ खेल खेल्दै चार जित र चार हार खेपेको छ। आठ अंक बनाएको नेपाल अहिले तालिकाको छैटौँ स्थानमा छ। नेपाल लिगमा कम खेल खेल्ने टोली पनि हो। पीएनजीले अहिलेसम्म अंकको खाता खोल्न सकेको छैन।

सात टोली सहभागी लिग–२ मा सबै राष्ट्रले एकआपसमा ३२ वटा खेल खेल्नेछन्। ३२ खेलपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकपमा छनोट हुनेछ।

नेपाली टोली

सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, रोहितकुमार पौडेल, सोमपाल कामी, विक्रम सोब, भीम सार्की, पवन सरार्फ र करण केसी।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology