आगामी स्थानीय तहको निर्वाचनमा १ करोड ७९ लाख मतदाता हुने आयोगकाे अनुमान

NAWALPUR TIMES

आगामी स्थानीय तहको निर्वाचनमा १ करोड ७९ लाख मतदाता हुने आयोगकाे अनुमान
election commission nirbachan aayog

काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा १ करोड ७९ लाख मतदाता हुने अनुमान गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोगले २०७९ साल वैशाख २९ गतेलाई १८ वर्ष उमेर पुग्ने दिनलाई निर्दिष्ट मिति (कट अफ डेट) मान्दा १ करोड ७९ लाख मतदाता कायम हुने अनुमान गरेको जनाएको हो ।

२०७४ को निर्वाचनमा १ करोड ५४ लाख २७ हजार ९३८ जना मतदाता कायम रहेको थियो । संविधान तथा कानुनमा भएको व्यवस्था बमोजिम आयोगले अन्तिम मतदाता नामावली तयारी गर्ने, निर्वाचन सामग्रीको व्यवस्थापन गर्ने, निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्ने, मतदाता शिक्षा सामग्री तयारी तथा कार्यक्रम सञ्चालन गर्ने आयोगले जनाएको छ भने नर्वाचन कार्यक्रम तयारी गरी प्रकाशन गर्ने, निर्वाचन अधिकृतको नियुक्ति र कार्यालय स्थापना गर्ने, निर्वाचन आचारसंहिता लागू गर्ने, निर्धारित मतदान स्थलहरूमा मतदान केन्द्र तोक्ने काम आयोगले गर्ने प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

उनले स्थानीय तह निर्वाचन सम्पन्न गराउन १२ अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने र निर्वाचन ब्यवस्थापनका लागि आवश्यक पर्ने बजेटको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । निर्वाचन सामग्री खरिद प्रक्रिया अगाडि बढाउन अर्थ मन्त्रालयबाट बजेट सुनिश्चितता लिई प्रतिस्पर्धात्मक प्रक्रियाबाट बोलपत्र आव्हान गर्नेगरी मापदण्ड र स्पेसिफिकेशन स्वीकृत गरिएको उनले बताए ।

यस्तै मतपत्र व्यवस्थापन गर्ने, उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने, निर्वाचन चिह्न प्रदान गर्ने, निर्वाचन सम्बन्धी प्रचारप्रसार गर्ने, मतदाता शिक्षा सञ्चालन गर्ने, मतदाता परिचय पत्र छपाइ तथा ढुवानी र वितरण गर्ने, सुरक्षा व्यवस्था मिलाउने, मतदान, मतगणना तथा परिणाम घोषणा गर्ने लगायत क्रियाकलाप समावेश गरी निर्वाचन कार्यतालिका समेत स्वीकृत गरिसकेको आयोगले जनाएको छ । फागुन ७ गते ‘निर्वाचन दिवस’ मनाउने कार्यक्रम तय गरेको आयोगका प्रवक्ता शर्माले बताए ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology