ज्ञानेन्द्रसँग पाँच बुँदे सहमति गरेको प्रमाणित गर्न ओलीलाई प्रचण्डको चुनौती
NAWALPUR TIMES प्रकाशित : २०७८ पुष १ गते १५:४८
काठमाडौँ । एमाले अध्यक्ष केपी ओलीलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनौती दिएका छन् । पूर्व राजा ज्ञानेन्द्रसँग पाँच बुँदे सहमति भएको भनी अध्यक्ष ओलीले लगाएको आरोप प्रमाणित गर्न प्रचण्डले चुनौती दिएका हुन् ।
अध्यक्ष प्रचण्डले भने, “म केपी ओलीलाई पाँच बुँदे सहमति प्रमाणित गर्न चुनौती दिन्छु ।” प्रचण्डले आज विज्ञप्ति प्रकाशन गरी अध्यक्ष ओलीले गरेको प्रचार गलत रहेको भन्दै खण्डन गरेका छन् ।
ओलीले बुधबार एक कार्यक्रममा प्रचण्डले पूर्व राजा ज्ञानेन्द्रसँग पाँच बुँदे सहमति गरेको बताएका थिए । अध्यक्ष प्रचण्डले सो विज्ञप्तिमा अध्यक्ष ओलीको सो प्रचार झुटो हो भन्दै त्यसबाट भ्रमित नहुनसमेत सबैसँग अनुरोध गरेका छन् । साथै अध्यक्ष प्रचण्डले सो विज्ञप्तिमा एमाले अध्यक्ष ओलीलाई माक्र्सवाद र कम्युनिस्ट सिद्धान्तबाट धेरै पर पुगेको भनी आरोप पनि लगाएका छन् ।
Facebook Comment