पदाधिकारीको मतगणना अपरान्हबाट

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर २९ गते १०:४०
पदाधिकारीको मतगणना अपरान्हबाट

नवलपुर । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत गत सोमबार भएको निर्वाचनको मत गणना आज अपराह्नबाट शुरु हुने भएको छ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशनमा भएको निर्वाचनको बाँकी मत गणनाको कार्य आजैबाट प्रारम्भ हुने जनाएको हो । निर्वाचन संयोजक गोपालकृष्ण घिमिरेले आज अपरान्हबाट मत गणना शुरु गरिने जानकारी दिए । उनका अनुसार पदाधिकारीको मतगणना गरिने छ । कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको निर्वाचन भएको थियो ।

पार्टी सभापतिमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत बढी मत नल्याएपछि मङ्गलबार पुनः मतादन भएको थियो । दोस्रो चरणमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विजयी भएका थिए । गएराति सभापतिका उम्मेदवारको मतगणना सम्पन्न भएको थियो ।

निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार सभापतिमा विजयी देउवाले दुई हजार ७३३ मत प्राप्त गरेका थिए । सभापतिका प्रत्यासी डा. शेखर कोइरालाले एक हजार ८५५ मत प्राप्त गरे ।

दोस्रो चरणको निर्वाचनमा कूल चार हजार ६२३ मत खसेको थियो । जसमध्ये ३५ मत बदर भएको थियो ।

सभापति बाहेकका बाँकी पदाधिकारी र सदस्यको मत गणना सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा हुने निर्वाचन संयोजक घिमिरेले जानकारी दिए । उनले मत गणनालाई सक्दो छिटो सम्पन्न गर्नेगरी व्यवस्थापन गरिने बताए । उनले भने, “आजै अपराह्नबाट मत गणना सुरु गर्छौँ, पदाधिकारीबाटै मतगणना हुन्छ । हामी अहोरात्र खटेर मतगणना गर्छौँ र छिट्टै गणना सम्पन्न गर्ने गरी व्यवस्थापन गर्छौँ ।”

 

 

प्रकाशित : २०७८ मंसिर २९ गते १०:४०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI