काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेपाल प्रहरीको उच्च सुरक्षा घेराबाट सर्वोच्च अदालत छिरेका छन्। उनको राजीनामा माग गर्दै सर्वोच्चमा आन्दोलनरत नेपाल बार र सर्वोच्च बारका वकिलहरु गेटमा धर्ना दिंदै गर्दा प्रधानन्यायाधीश जबरालाई प्रहरी वैकल्पिक गेटबाट सर्वोच्च प्रवेश गराएको हो ।
सर्वोच्च अदालतमा अहिले प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ भने बेलाबेला प्रहरी र कानुन व्यवसायीबीच धकेलाधकेल पनि भइरहेको छ।
नेपाल बार र सर्वोच्च बारका वकिलहरुले गत शुक्रबारबाट प्रधानन्यायाधीश जबरालाई सर्वोच्चमा प्रवेशमा रोक लगाउने भन्दै धर्ना दिंदै आइरहेका छन्।
उनीहरुले प्रधानन्यायाधीशको राजीनामा नआएसम्म विरोधका कार्यक्रमहरु जारी रहने पनि बताएका छन् ।
यसैबीच प्रधानन्यायाधीश जबराले आइतबारका लागि आफू बाहेकका न्यायाधीशहरुको १० वटा इजलास तोकेका छन् ।
ती १० इजलाशमा २ सय ७२ मुद्दाको पेसी तोकिएको छ।
प्रकाशित : २०७८ कार्तिक २८ गते ११:५८
Facebook Comment