काठमाडौं । नेकपा एमालेले महाधिवेशनमा भाग लिने प्रतिनिधि छनौटको प्रावधानलाई स्पष्ट पारेको छ ।
कात्तिक १२ गते बसेको केन्द्रीय कमिटीको बैठकका निर्णयलाई अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन (अपानि) १३ जारी गर्दै महाधिवेशनमा तीन प्रकारका प्रतिनिधि हुने पनि स्पष्टपारेका छन् । अपानीमा जनाइए अनुसार पदेन, भौगोलिक र मनोनीत गरी तीन प्रकारका प्रतिनिधि हुनेछन् ।
पदेन प्रतिनिधिहरुमा केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरु, केन्द्रीय अनुशासन आयोगका पदाधिकारी र सदस्यहरु, केन्द्रीय लेखा आयोगका पदाधिकारी र सदस्यहरु र केन्द्रीय निर्वाचन आयोगका पदाधिकारी र सदस्यहरु रहनेछन् ।
सबभन्दा ठूलो संख्या रहने भौगोलिक प्रतिनिधिहरु निम्न अनुसार हुनेछन्–
– प्रदेश र सो सरहका कमिटीका पदाधिकारी र सदस्यहरु मध्येबाट कम्तिमा २ महिलासहित ५ जना दरले निर्वाचित हुने प्रतिनिधि ।
– प्रतिनिधिसभा निर्वाचन क्षेत्र अन्तर्गतका १२०० सम्म पार्टी सदस्य मध्येबाट कम्तिमा १ महिला सहित ३ जनाका दरले निर्वाचित हुने प्रतिनिधि । सो पछि प्रत्येक ८०० मा थप १र१ जना तर हरेक दोश्रो ८०० मा महिला अनिवार्य हुनेछ ।
– देशभित्रका विशेष जिल्ला अन्तर्गतका १२०० सम्म पार्टी सदस्य मध्येबाट कम्तिमा १ महिला सहित ३ जनाका दरले निर्वाचित हुने प्रतिनिधि । सो पछि प्रत्येक ८०० सदस्यसम्म मा थप १ जना तर हरेक दोश्रो ८०० मा महिला अनिवार्य हुनेछ ।
– देशभित्रका जिल्ला र विशेष जिल्ला अन्तर्गतका ५०० सम्म दलित पार्टी सदस्य मध्येबाट निर्वाचित हुने १ जना प्रतिनिधि । सो संख्यामा थप ५०० सम्म सदस्य थप भएमा १ जना महिला अनिवार्य र सो पछि प्रत्येक ५०० मा महिलाको एकतिहाई हुनेगरी १र१ जनाको दरले प्रतिनिधि छनौट गर्ने ।
– भूगोलका प्रदेश अन्तर्गतका मजदूर पार्टी सदस्य मध्येबाट कम्तिमा ३ महिलासहित ७ जनाका दरले निर्वाचित हुने प्रनितनिधि ।
– भारत, अमेरिका (क्यानडा समेत), युरोप, एशिया प्यासिफिक, खाडी र ओसियाना प्रत्येकका पार्टी सदस्यहरुबाट कम्तिमा २ महिला सहित ५ जनाका दरले निर्वाचित हुने ३० जना प्रतिनिधि ।
– पार्टीका केन्द्रीय विभाग र केन्द्रीय कार्यालय अन्तर्गतका पार्टी सदस्यहरुबाट निर्वाचित हुने कम्तिमा २ महिला सहित ५ जना प्रतिनिधि । विभागका सचिव र सदस्यहरु विभाग र केन्द्रीय कार्यालय वा आफ्नो पार्टी सदस्यता कायम रहेको मध्ये कुनै एक स्थानबाट उम्मेदवार बन्न सक्ने ।
एमालेले आफ्ना २२ वटा जनसंगठनलाई पनि प्रत्येक संगठनबाट २ जना महिला सहित ५ जनाका दरले प्रतिनिधि छनौट गर्न भनेको छ ।
सल्लाहकार परिषदलाई मताधिकार नहुने
केन्द्रीय सल्लाहकार परिषदका अध्यक्ष स्थायी कमिटीको पदेन सदस्य रहेकोले आयोजक हुने हुँदा सल्लाहकार परिषदका अन्य पदाधिकारी समेत सदस्यहरु मध्येबाट निर्वाचित हुने १५ जना प्रतिनिधि ।
सल्लाहकार परिषदका अन्य सदस्यहरु राष्ट्रिय महाधिवेशनमा सहभागी हुने तर उहाँहरुलाई मताधिकार नहुने ।
यी बाहेक केन्द्रीय कमिटीले बढीमा ५ प्रतिशत प्रतिनिधि मनोनित हुने व्यवस्था गरेको छ । सबै गरेर बढीमा १ हजार ९ सय ९९ जना दशौं महाधिवेशनका प्रतिनिधी हुनेछन्
प्रकाशित : २०७८ कार्तिक १८ गते ११:१३
Facebook Comment