दुई महिनाभित्र होङ्सी सिमेन्टलाई विद्युत् दिइने

NAWALPUR TIMES

दुई महिनाभित्र होङ्सी सिमेन्टलाई विद्युत् दिइने
1 29

नारायण शर्मा/नवलपरासी पूर्व — पूर्वी नवलपरासीको सर्दीमा चिनियाँ लगानीमा सञ्चालित होङ्सी सिमेन्टलाई दुई महिनाभित्रमा विद्युत् दिइने भएको छ । उद्योगका लागि निर्माण भइरहेको बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माणमा केही ढिला हुने भएपछि वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति गर्न लागिएको विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वैकल्पिक व्यवस्था गरेर भए पनि दुई महिनाभित्र विद्युत् आपूर्तिको प्रबन्ध मिलाइने बताएका छन् ।

भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको बीच खण्डबाट ‘ट्यापिङ’ गरी होङ्सी सिमेन्टलाई विद्युत आपूर्ति दिन लागिएको हो । दैनिक ६ हजार मेट्रिक टन उत्पादन क्षमता रहेको यो सिमेन्ट कारखानाले उत्पादन क्षमता बढाएर १२ हजार मेट्रिक टन बनाउने गरी काम सुरु गरेको छ । दैनिक १२ हजार मेट्रिक टन ( सिमेन्ट र क्लिंकर) उत्पादन गर्न ८० मेगावाट बिजुली चाहिने कम्पनीले जनाएको छ । कारखाना पूर्ण क्षमतामा सञ्चालन हुँदा विद्युत् प्राधिकरणलाई कम्तीमा मासिक ४५ करोड महसुल कारखानाले तिर्छ ।

कार्यकारी निर्देशक घिसिङले सिमेन्ट कारखाना उद्योगका पदाधिकारीसँग छलफल गरेर महिनाभित्र विद्युत् आपूर्ति दिन सकिने भएकाले कारखानाले पनि त्यसैअनुसार आवश्यक तयारी गर्न आग्रह गरेको बर्दघाट–सर्दी प्रसारण लाइन आयोजनाका प्रमुख हरि पाण्डेले बताए । पाण्डेका अनुसार भरतपुर–बर्दघाट २२० केभी प्रसारणलाइन निर्माण कार्य अन्तिम चरणमा रहेको छ । ‘कात्तिकभित्र उद्योगलाई लाइन दिइसक्छौँ,’ पाण्डेले भने ‘विद्युत् अभावमा कारखानाको उत्पादन क्षमतालाई असर गर्दैन ।’

३६ अर्ब रुपैयाँ लगानीको होङ्सी सिमेन्ट कारखाना नेपालको सबैभन्दा ठूलो सिमेन्ट कारखाना हो । दुम्कीवासबाट १० किलोमिटर उत्तरमा होङ्सी सिमेन्टको कारखाना रहेको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology