गले ओली, पार्टी मिलाउने कसरतमा अग्रसर

NAWALPUR TIMES

गले ओली, पार्टी मिलाउने कसरतमा अग्रसर
oli large.jpg

काठमाडौँ। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल समूहलाई पार्टीभित्र मिलाउने क्रममा अन्तिम कसरतमा लागेका छन्। उनले दोस्रो पुस्ताका नेताहरूसँग विभिन्न चरणमा कुराकानी गरेपछि मात्रै माधव नेपालसँग अन्तिम कुराकानी गर्ने र त्यो भन्दा अघि सबै सहमतिको खाका तयार गर्ने गरी दोस्रो पुस्तालाई निर्देशन दिएका छन्।

माधवकुमार नेपाल पक्षले २०७५ जेठ २ लाई बटम लाइन बनाएको छ। ओली यो विषयमा तयार भैसकेको भए पनि बाहिर उनी केही बोलेका छैनन्। उनले शुक्रवार राती आफू निकटका व्यक्तिहरूसँग छलफल गरेका  थिए। सुवास नेम्वाङ, ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली सहभागी थिए। विष्णु रिमाल र खगराज अधिकारी भने हिजोको बैठकमा थिएनन्। विष्णु पौडेलले साँझ नेपाल पक्षका नेताहरू घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्टलाई भेटेर राती बालुवाटार पुगेका थिए। हिजो नै खगराज अधिकारी र योगेश भट्टराईबिच पार्टी एकताको विषयमा छलफल भएको थियो। भट्टराईलाई भेट्न अधिकारी आफै भट्टराई निवास पुगेका थिए।

शुक्रवार भीम आचार्यसँग प्रदेश १ का आन्तरिक मामिला मन्त्री हिकमत कार्कीले टेलिफोनमा कुराकानी गरेका थिए। साथै राष्ट्रपतिका स्वकीय सचिवालयमा रहका भेषराज अधिकारीले पनि आचार्यसँग कुराकानी गरेका थिए। यी सबै भेटघाट र कुराकानीमा नेपाल पक्षका नेताहरूले निशर्त २०७५ जेठको कमिटी ब्युँताउने सहमति भएपछि मात्रै अन्य कुरामा छलफल गर्ने बताउँदै आएका छन्।

‘हामीले सहमतिका लागि २ जेठ २०७५ को एमाले ब्युँतिनु पर्छ भनेका छौँ। त्यसमा दुवै पक्षबाट सैद्धान्तिक सहमति भइसकेको छ। तर यो वा त्यो विभिन्न खालका सर्त र प्रतिसर्त बनाइँदैन’, नेपाल पक्षका नेता भीम आचार्यले भने। ओली पक्षका नेताहरू पृथ्वी सुब्बा गुरुङहरूले जसरी पनि पार्टी मिलाउनै पर्ने दबाब दिइरहेका छन्।

ओली पक्षको सबैभन्दा बलियो सङ्गठन रहेको गण्डकी प्रदेशबाट अधिकारी र गुरुङले ओलीलाई पार्टी मिलाउन दबाब दिएका छन्। गुरुङ त काठमाडौँ नै आएका छन् भने अधिकारीले दोस्रो तहका नेताहरूसँग छलफल अघि बढाइरहेका छन्।

‘पार्टी मिल्नुको विकल्प छैन, सङ्घर्ष गरेर आएका नेताहरूलाई बाहिर राखौँ भन्ने चाहना राखिन्न’, गुरुङले भने। यसका अलावा अहिले नेपाललाई कार्यकारी अधिकारसहित पार्टीभित्र ल्याउनुपर्छ भन्ने पक्षमा गुरुङ लागेको बताइन्छ। तर पनि ओलीले यो विषयलाई अर्थहीन मानेका छन्। नेपाललाई अहिले पनि पार्टीमा फर्काउन प्रयास गरिरहेका ओली पक्षका नेताहरूमा गुरुङ पनि थपिएपछि ओली थप दबाबमा रहेका हुन्।

पार्टीमा आएको विवादकै कारण गण्डकी प्रदेशको मुख्यमन्त्री गुमाएका गुरुङलाई ओलीले गरेका काम सबै सही हुन भन्ने नलागेको बत्ताउँछन्। ‘गल्ती  दुवै नेताहरूबाट भएको छ दुवैले गल्ती महसुस गर्नुपर्छ पार्टी एकतालाई बचाउनुपर्छ’, गुरुङले भने। मङ्गलवार सर्वोच्च अदालतले जेठ २१ र जेठ २७ मा गरिएको मन्त्रिपरिषद् विस्तारलाई खारेज गरेपछि ओली समूह पार्टी मिलाउनै पर्ने दबाबमा रहेको छ।

त्यसका लागि बुधवारदेखि सुवास नेम्वाङ, विष्णु पौडेलले सुरेन्द्र पाण्डे लगायतको टिमसँग लगातार छलफल गरिरहेका छन्। ‘केही विषयहरू परिपक्व भएका छैनन् परिपक्व भएपछि हामी माधव नेपालसँग गरेर ओलीले कुराकानी गर्ने वातावरण तयार गर्छौ’, संवादमा सहभागी एक नेताले भने।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology