आइतबार र मंगलबार कोरोनाले आमाबुबाको मृत्यु, दुर्घटनामा छोरीको मृत्यु

NAWALPUR TIMES

आइतबार र मंगलबार कोरोनाले आमाबुबाको मृत्यु, दुर्घटनामा छोरीको मृत्यु
1621393831951

रुकुम पश्चिम — छुट्टाछुट्टै घटनामा चार दिनको बीचमा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । कोरोनाले बाँफिकोट गाउँपालिका–५ स्यार्पुगाउँका ६७ वर्षीया र ७० वर्षीय दम्पतीको क्रमशः आइतबार र मंगलबार ज्यान गएको थियो ।

दुवैको जिल्ला अस्पताल सल्लेमा उपचारकै क्रममा मृत्यु भएको थियो । आमा–बुबाकै मृत्युपछि अन्त्येष्टिमा सहभागी हुन काठमाडौंबाट घर जाने क्रममा ३२ वर्षीया छोरी देवी केसीको पनि बुधबार बिहान पश्चिम नवलपरासीमा भएको बस दुर्घटनामा मृत्यु भयो ।

आमाको मृत्युपछि नै घर आउन खोजेकी उनी सवारी नपाइएपछि आउन सकेकी थिइनन् । संयोगवश बाबुको मृत्यु भएकै दिन जिल्ला आउने बस भेटाइन् र घरतर्फ लागिन् । तर घर पुग्न पाइनन् । उनी चढेको ना५ख २७१३ नम्बरको बस दाउन्ने भीरबाट करिब १ सय ५० मिटर तल खस्दा चारको मृत्यु हुनुका साथै ४२ घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका डीएसपी राजु लामाका अनुसार मृत्यु हुनेहरुमा देवीसहित त्रिवेणी गाउँपालिकाकी २७ वर्षीय कल्पना पुन, सिस्ने गाउँपालिकाका धनराज घर्ती, र मुसिकोट नगरपालिकाका १ का २१ वर्षीय गोपाल ओली रहेका छन् ।

निषेधाज्ञाको समयमा करिब ५० जना यात्रु बोकेर बस नवलपरासीसम्म कसरी आयो भन्ने प्रश्न उब्जिएको डीएसपी लामाले बताए । ती युवतीको परिवारमा अब ३ जना (छोरा, छोरी, बुहारी) मात्रै छन् । ‘आमाको अन्तिम संस्कार नसकिँदै बाबुको पनि काजकिरिया थाल्नुपर्ने भयो,’ गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले भने, ‘सँगसँगै छोरीको पनि मृत्य हुनु हृदयविदारक घटना हो ।’

एकैपटक घरका तीन जनाको मृत्यु भएपछि गाउँ शोकमा डुबेको स्थानीय गोर्ख दाहालले बताए । ‘परिवारका अरू सदस्य भावविह्वल छन्, एउटामाथि अर्को र अर्कोमाथि अर्को घटनाले परिवार मात्रै होइन गाउँ नै शोकमा डुबेको छ,’ दाहालले भने, ‘गाउँले पहिलोपटक यस्तो दुःख बेहोर्नुपर्‍यो ।’

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology