संसद पुनःस्थापना : माधव-प्रचण्ड पक्षले बोलाए संसदीय दलको बैठक

NAWALPUR TIMES

संसद पुनःस्थापना : माधव-प्रचण्ड पक्षले बोलाए संसदीय दलको बैठक
1614136587637

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को माधव-प्रचण्ड पक्षले बुधबार संसदीय दलको बैठक बोलाएको छ। मंगलबार सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला गरेसँगै दिउँसो ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा संसदीय दलको बैठक बोलाएको हो।

बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट प्रतिनिधित्व गर्ने सांसदहरुलाई बोलाइएको छ। प्रतिनिधिसभामा नेकपाका दुवैपक्ष गरी सभामुखबाहेक १७३ सांसद थिए। राष्ट्रियसभामा ५० जना छन्।

पुष ८ गते बानेश्वरस्थित संसद् भवनमा बुधबार बसेको उक्त समूहको दलको बैठकले दल नेताबाट प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीलाई हटाई पुष्पकमल दाहाललाई बनाउने निर्णय गरेको थियो। यो पक्षले पार्टी अध्यक्षबाट ओलीलाई हटाउँदै नेकपाको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

प्रधानमन्त्री ओलीले राजीनामा नदिए संसद् अधिवेशन सुरु भएसँगै अविश्वास प्रस्तावमार्फत अगाडि बढ्ने संकेत माधव-प्रचण्ड समूहले गरेको छ। यो समूहले पुस ५ गते नै अविश्वास प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएको थियो। त्यसबेला प्रतिनिधिसभा विघटनअघि कि पछि दर्ता भएको भन्ने विवाद थियो। त्यही अविश्वास प्रस्तावलाई सक्रिय बनाएर संसद्बाटै टुंगो लगाउने गरी संसदीय प्रक्रियामा दाहाल–नेपाल पक्ष जान सक्ने एक स्थायी समिति सदस्यले बताए।

प्रधानमन्त्री ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटनको प्रस्ताव ल्याएपछि नेकपा विभाजन भएको थियो। निर्वाचन आयोगले नेकपा विभाजनलाई वैधानिकता दिएको छैन। आयोगमा यो विषय अझै कानुनी लडाइँमा छ।

प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ। एउटा समूहको नेतृत्व प्रधानमन्त्री केपी ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व माधव-प्रचण्डले गरेका छन्।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology