जेलभित्रै हत्या गर्नेलाई आममाफी दिइएपछि तरुण दलको विरोध

NAWALPUR TIMES

जेलभित्रै हत्या गर्नेलाई आममाफी दिइएपछि तरुण दलको विरोध
download

काठमाडौं, ८ फागुन । जेलभित्रै हत्या जस्तो अक्षम्य र गम्भीर अपराध गर्ने अपराधीहरूलाई आममाफी दिएर सरकारले अवाञ्छित क्रियाकलापलाई प्रोत्साहन गरेको भन्दै नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले विरोध गरेको छ ।

शनिबार विज्ञप्तिमार्फत् जेलभित्रै हत्या जस्तो अक्षम्य र गम्भीर अपराध गर्ने अपराधीहरूलाई सरकार र राष्ट्रपतिजस्तो संस्थाले आम माफी दिनु भनेको देशमा हत्या, हिंसाजस्ता दानवीय प्रवृत्तिको ढाकछोप गर्ने र अवाञ्छित कृयाकलापलाई प्रोत्साहित गर्ने हर्कत भएको तरूण दलकाे ठहर छ ।

सरकारले प्रजातन्त्र दिवसको बहाना बनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीनिकटका तीनजना हत्यारालाई काराबास सजाय छुट दिएको भन्दै विज्ञप्तिमार्फत् विराेध जनाएकाे हाे । प्रजातन्त्र दिवसकाे अवसरमा नेपाल तरुण दल चितवनका तत्कालीन अध्यक्ष शिव पौडेलको हत्यामा दोषी ठहर भई जेल सजाय भोगिरहेका फणिन्द्र श्रेष्ठ, दिलबहादुर मोक्तान र सुनिल केसीको जेल सजाय सरकारले मिनाहा गरेको थियाे ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रजातन्त्र दिवसको अवसरमा प्रजातन्त्रकै खिल्ली उडाउँदै नेकपा ओली गुटको सरकारको सिफारिमा राष्ट्रपति विद्यादेवी भण्डारीले बाँकी कैद मिनाहा गरी आममाफी दिइएकोप्रति नेपाल तरुण दल केन्द्रीय समिति आपत्ति जनाउँदै उक्त कार्यको घोर निन्दा एवं भत्र्सना गर्दछ ।’

माफी पाएका तीनैजना प्रधानमन्त्री केपी शर्मा ओलीनिकट रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology