साउदमाथि आक्रमणपछि कांग्रेसको प्रतिक्रियाः सत्ताको उन्माद नदेखाउन ओली समूहलाई चेतावनी

NAWALPUR TIMES

साउदमाथि आक्रमणपछि कांग्रेसको प्रतिक्रियाः सत्ताको उन्माद नदेखाउन ओली समूहलाई चेतावनी
1613483323105

काठमाडौँ ।  नेपाली काँग्रेसले सत्ताको उन्माद प्रस्तुत नगर्न नेपाल कम्युनिस्ट पार्टी ओली समूहलाई  चेतावनी दिएको छ ।  नेपाली काँग्रेसका नेता एनपी साउद लगायतका नेताहरूमाथि नेकपा ओली समूहका कार्यकर्ताले गरेको आक्रमणको निन्दा गर्दै काँग्रेसले यस्तो चेतावनी दिएको हो  ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले मङ्गलवार विज्ञप्ति जारी गर्दै  बैतडी जिल्लाको डिलासैनीमा नेपाली काँग्रेसको कार्यक्रम भइरहेको समयमा ओली निकट नेकपाबाट नियोजित रूपमा गरिएको आक्रमण निन्दनीय भनेका छन्।

आक्रमणमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य द्वय एन.पी. साउद र डिला सङ्ग्रौला, नेपाली काँग्रेस बैतडीका सभापति नरेन्द्र थापा लगायत स्थानीय नेतृत्व एवं नेविसंघका पूर्व सभापति नैनसिंह महर सहभागी कार्यक्रममा भएको ढुंगामुढाबाट पार्टीका नेताहरू घाइते भएका छन् ।

घटनामा केही सवारी साधनमा तोडफोड समेत गरिएको छ । एक्कासि भएको आक्रमण पश्चात् पार्टीका तरुण कार्यकर्ताले तत्कालै प्रतिवाद गरेको केहिबेरपछि कार्यक्रम सुचारु भएको थियो ।

प्रवक्ता शर्माले भनेका छन्,’ सत्तारूढ नेकपाको स्थानीय पार्टी पङ्क्तिमा उग्रवादी चरित्र भर्न केन्द्रीय नेतृत्वकै अभिव्यक्ति शैली र व्यवहारले भूमिका खेलेको हाम्रो ठहर छ । यस्तो प्रवृत्ति परित्याग गर्न चेतावनी दिँदै नेपाली काँग्रेस डिलासैनी घटनाका दोषीहरूलाई तत्काल पक्राउ गरेर कारबाही गर्न माग गर्दछ ।’

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology