भागरथी हत्यामा ‘चिनेजानेकै स्थानीय’ संलग्न

NAWALPUR TIMES

भागरथी हत्यामा ‘चिनेजानेकै स्थानीय’ संलग्न
1612579314741

बैतडी, २ फाल्गुन  । बैतडी दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्या चिनजानकै व्यक्तिबाट भएको निष्कर्ष प्रहरीले निकालेको छ। प्रहरीले अनुसन्धान अपराधीको धेरै नजिक पुगिसकेको दाबी गरेको छ। अनुसन्धानमा खटिएका सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तम सुवेदीले चिनजान र सम्पर्कमा रहेका स्थानीयबाटै भागरथीको बलात्कार र हत्या भएको बताएका छन्।

‘घटनास्थलको भौगौलिक अवस्था हेर्दा बाहिरबाट आएर कुनै मान्छेले यो घटना गराउने सम्भावना नै छैन। चिनजानका स्थानीय व्यक्तिबाट बलात्कार र हत्या भएको हो,’ दोगडाकेदारमा बसेर अनुसन्धान गरिरहेका सुवेदीले भने। सुरुमा सबै कोणबाट फराकिलो घेरामा अनुसन्धान गरिएको र अहिले अनुसन्धान साँघुरिँदै पहिलो चरणबाट दोस्रोमा प्रवेश गरेको उनले बताए। ‘हामी तुरुन्तै दोषी पत्ता लगाउर्छाें, सार्वजनिक गर्छौं’, उनले भने।

प्रहरी भागरथीको बलात्कार हत्यामा संलग्न व्यक्तिका बारेमा निचोडमा पुगे पनि तथ्य र प्रमाण जुटाउन बाँकी रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेश सिंहले बताए। ‘प्रहरी एक निचोडमा पुगिसकेको छ, त्यसलाई पुष्टि गर्न केही तथ्य जुटाउने क्रममा हामी छौं’, उनले भने, ‘वास्तवमै अनुसन्धान साँघुरो घेरामा पुगेको छ। तथ्यले पुष्टि गरेपछि हामी पक्राउ गर्छौं।’ यो खबर आजको नागरिक दैनिकमा छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology