संयुक्त आन्दोलनमा गए कांग्रेसलाई घाटा हुन्छ : शशांक कोइराला

NAWALPUR TIMES

संयुक्त आन्दोलनमा गए कांग्रेसलाई घाटा हुन्छ : शशांक कोइराला
received 711455009565028

काठमाडौँ — कांग्रेस महामन्त्री शशांक कोइरालाले कांग्रेसले आन्दोलन गर्दा कसैसँग मिल्नु नहुने बताएका छन् । सोमबार नेपालका पूर्वप्रधानमन्त्री सुशील कोइरालाको छैटौं स्मृति दिवसको अवसरमा सुशील कोइराला सोसलिस्ट युथ सर्कलले काठमाडौंमा आयोजना गरेको संकटमा संविधान विषयक विचार गोष्ठीमा बोल्दै महामन्त्री कोइरालाले कांग्रेसले आन्दोलन गर्दा कसैसँग मिल्नु नहुने बताएका हुन् ।

नेपाली कांग्रेसको आफ्नै विचार र अस्तित्व भएका कारण संयुक्त आन्दोलनमा जानु नहुने उनको भनाइ छ । संयुक्त आन्दोलनमा गए कांग्रेसलाई घाटा हुने उनले बताए । महामन्त्री कोइरालाले आफ्नो कार्यकर्ताहरुलाई समेटेर एकजुट बनाएर लिएर जान सके कांग्रेसको भविष्य उज्ज्वल रहेको उनले बताए ।

कार्यक्रममा पुष्पकमल दाहाल–माधवकुमार नेपाल नेतृत्वको नेकपाका स्थायी कमिटी सदस्य रघुजी पन्तले संविधानको रक्षा गर्नु अहिलेको मूल दायित्व भएको बताए । उनले संविधान, लोकतन्त्र, गणतन्त्र र धर्म निरपेक्षताको रक्षा गर्नुपर्ने उनको भनाइ छ । अहिले संघीयता र धर्मनिरपेक्षताको बारेमा प्रश्न उठाएर संविधानलाई कमजोर बनाउनु नहुने उनले बताए । नेता पन्तले वैशाखमा निर्वाचन नहुने भन्दै संविधानको रक्षाको निम्ति सबै राजनीतिक दल मिलेर आन्दोलनमा जानुपर्ने धारणा राखे ।

कांग्रेसका केन्द्रीय सदस्य मीनेन्द्र रिजालले अहिलेको समस्याको मुख्य जड प्रधानमन्त्री ओलीको मानसिकता रहेको बताए । ओलीलाई जनताले संसद्, संविधान र कानुनको अधिनमा बसेर शासन गर्न चुनाव जिताएर पठाएको भए पनि कानुन, संविधान, अदालत केही नमान्ने प्रवृत्ति ओलीमा रहेको उनको भनाइ छ ।

नेता रिजालले संसद् विघटनअघि एकै ठाउँमा बसेका मान्छेहरु अहिले विभक्त भएको भन्दै कुनै एकको पक्षमा कांग्रेस नलाग्ने पनि स्पष्ट पारे ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology