लाइसेन्सको कोटा सिस्टम तत्काल नहट्ने

NAWALPUR TIMES

आइतबारसम्म हट्ने भनिएको सवारी चालक अनुमती पत्र (लाइसेन्स) को कोटा सिस्टम हट्न अझै केही समय लाग्ने भएको छ।
आइतबारदेखि अनलिमिटेड बनाउने भनिएपनि विभागको वेवसाइट डाउन भएको कारण गर्न नसकिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिए।
‘हाम्रो साइट डाउन भएको छ। प्राविधिक टोलीले त्यो समसया हटाउन खोज्दै हुनुहुन्छ,’ उनले भने ‘ पहिला हामी आन्तरिक रुपमा परीक्षण गरेर यो हप्ता भित्र सेवाग्राहीको लागि खुल्ला गर्छौ।’
यातायात व्यवस्था विभागले गत पुस १० गते सूचना जारी गर्दै स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सम्बन्धी मापदण्डहरू पालन गर्ने व्यवस्था गरी १४ गतेदेखि आवदेन खुला गरेको थियो।
आवेदन खुला भए पनि फारम भर्नेको सङ्ख्या अधिक भएकोले कोटा सिस्टम हुँदा अधिकांश सेवाग्राही फारम भर्नबाट बञ्चित थिए।
त्यस्तै, विभागले सवारी चालक अनुमति पत्रको मापदण्ड परिवर्तन गर्ने तयारी पनि थालेको छ।
विभागले अहिलेको कडा मापदण्ड परिमार्जन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव पेश गरेको हो।
यो प्रस्तावअनुसार कुनै सानो गल्तीले ट्रायल फेल नहुने हमालले जानकारी दिए।
‘अहिले ट्रायल दिनेमध्ये २५ प्रतिशत मात्रै पास हुन्छन्। राम्रोसँग सवारीसाधन चलाउन जान्नेहरू पनि सामान्य गल्तीमा फेल हुँदा बिचौलियाकहाँ जाने समस्या देखियो। त्यही भएर अलि सहज बनाउन यो काम गर्न लागिएको हो,’ उनले भने।
हमालका अनुसार नयाँ प्रस्तावमा ट्रायलका विभिन्न चरण अंकका आधारमा पास९फेल निधो गरिनेछ। ट्रायल सुरूवातकै ’एट (८)’ मा छिरेदेखि ट्रायल पूरा गरेर ननिस्किउञ्जेलसम्म विभिन्न प्यारामिटरमा अंक बाँडिनेछ।
यो ट्रायलको पूर्णाक १०० हुने र ६० आउनेहरू पास हुने उनले जानकारी दिए। प्यारामिटर र त्यसका अंक कति राख्ने भन्नेबारे हाल छलफल चलिरहेको उनले बताए।
‘अहिले हेल्मेटको लक नलगाए पनि ट्रायल फेल हुने नियम छ। अब भने त्यसमा पनि निश्चित अंक पाउनेछन्। त्यस्तै ८ कटाएको निश्चित अंक हुनेछ। यस्तै–यस्तै विभिन्न प्यारामिटर हुनेछन्,’ हमालले भने।
समग्रमा ट्रायलका सानातिना कडा नियम अलि खुकुलो बनाउन लागिएको उनको भनाइ छ। त्यस्तै लिखित परीक्षाको ढाँचा पनि केही परिवर्तन हुने उनले बताए।
‘५ सय वा एक हजार प्रश्नका सेट हामी सुरूमै सार्वजनिक गर्नेछौं। प्रश्न त्यहीँ भित्रबाट मात्रै सोधिनेछन्,’ हमालले भने।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology