काङ्ग्रेसले आज नवलपुरका ८ सहित देशैभरका पालिकामा प्रदर्शन गर्ने

NAWALPUR TIMES

काङ्ग्रेसले आज नवलपुरका ८ सहित देशैभरका पालिकामा प्रदर्शन गर्ने
congress

कावासोती । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि आन्दोलनमा रहेको नेपाली कांग्रेसले शनिबार नवलपुरका ८ वटै पालिका सहित देशभरका ७५३ वटै स्थानीय तहबाट सरकारविरूद्ध विरोध प्रदर्शन गर्दै छ ।

नेपाली काङ्ग्रेस नवलपुरका सचीव बालकृष्ण घिमिरेका अनुसार नवलपुरका ८ वटै पालिकाहरुमा प्रदर्शनको तयारी सकिएको छ । घिमिरेका अनुसार शनिबार गैंडाकोट नगरपालिकाको गैंडाकोट-१२ हर्कपुरमा, देवचुली नगरपालिकाको रजहर र प्रगतिनगरबाट र्‍याली सुरु भई दुम्कौली(सिजि गेट)मा , कावासोती नगरपालिकाको रामनगर चोकबाट र्‍याली सुरु गरेर फलफूल चोकमा, मध्यविन्दु नगरपालिकाको अरुणखोला बजारमा , हुप्सेकोट गाउँपालिकाको हुप्सेकोट-३ बेलहानीमा, विनयी त्रिवेणी गाउँ पालिकाको सर्दीमा , बुलिङ्गटार गाउँपालिकाको बुलिङ्गटारमा र बौदिकाली गाउँपालिकाको डेढगाउँमा र्‍याली सहित कोण सभा गरिने छ ।

यसै बिच नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले कार्यकर्ताको नाममा अपिल जारी गर्दै प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमविरूद्ध प्रदर्शनमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन्।
‘भोलि माघ ३ गते ७५३ स्थानीय तहमा निर्धारित विरोध प्रदर्शन सक्रिय सहभागिता साथ प्रभावकारी रुपले सफल बनाउन म सबैमा हार्दिक अपील गर्दछु,’ देउवाले अपिलमा भनेका छन्।

‘संसद विघटनको कार्यलाई हामीले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेका छौं। संविधानमा भएको ब्यवस्था प्रतिकूल, जनभावना विपरीतको कार्यविरुद्ध कांग्रेस एकमतका साथ उभिएको छ,’ देउवाले भनेका छन्, ‘पार्टीको सबै तहका साथीहरू सँगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील गर्दछु’ देउवाद्वारा जारी अपिलमा भनिएको छ

प्रतिनिधिसभा विघटन गरिएपछि कांग्रेसले यसअघि नै पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरिसकेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology