प्रधानमन्त्रीले जसलाई स्वागत गरे उसैले सगरमाथामा भारतको दाबी गरे

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष २९ गते ८:११
प्रधानमन्त्रीले जसलाई स्वागत गरे उसैले सगरमाथामा भारतको दाबी गरे
FB IMG 16103752459771984

गत सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्वातार्ताका लागि भारतीय न्यूज च्यानल जी न्यूजको टोलीलाई बालुवाटारमा न्यानो स्वागत गरेका थिए । तर त्यहि जी न्यूजले विश्वको सर्वोच्च शिखर सगरमाथामा भारतको पनि दाबी हुनुपर्ने भन्दै सगरमाथालाई भारतीय नाम दिने अभियान नै थालेको छ ।

वजी न्यूजको टोलीले सगरमाथा दाबी प्रस्तुत गर्न सगरमाथा क्षेत्रमै पुगेको छ । सगरमाथा क्षेत्रको कालापत्थरमा उभिएर, सगरमाथालाई पृष्ठभूमिमा राखेर जी न्यूजका प्रधान सम्पादक सुधिर चौधरीले भने, ‘आज यो ठाउँबाट तपाईंहरूलाई म केही बताउन चाहन्छु । म भन्न चाहन्छु कि माउन्ट एभरेस्टमाथि भारतको पनि दाबी हुनुपर्छ ।’

उनले भारतसँग सगरमाथाको साइने भएको पनि दाबी गरे । यसबारे उनले सन् १८५२ को घटनाको जानकारी दिएका छन् । उनी भन्छन्, ‘आज म यहाँ उभिएर भन्न चाहन्छु कि भारतसँग माउन्ट एभरेस्टको के साइनो छ ? वर्ष १८५२ मा राधानाथ सिकदरले पहिलोपटक माउन्ट एभरेस्टको उचाइ मापन गरेका थिए । सर्भे अफ इन्डियाले उनलाई यो जिम्मेवारी दिएको थियो । उनलाई आदेश थियो– तपाईं जानुहोस् र माउन्ट एभरेस्टको उचाइ नापेर आउनुहोस् । ’

उनी थप्छन्, ‘राधानाथ सिकदर बंगालका प्रख्यात गणितज्ञ थिए । उनले माउन्ट एभरेस्टको उचाइ नापे । माउन्ट एभरेस्टको उचाइ नाप्ने उनी नै पहिलो व्यक्ति थिए । भारतमा त्यसवेला अंग्रेजको शासन थियो, त्यसैले उनीहरूले आफ्नो हिसाबले नाम राखिदिए । एन्ड्रयु वा जो जर्ज एभरेस्टका उत्तराधिकारीको रूपमा सर्भे अफ इन्डियाको प्रमुख थिए । उनले यो शिखरको नाम माउन्ट एभरेस्ट राखिदिए ।

हामी भन्न चाहन्छौँ कि यो शिखरको नाम राधानाथ सिकदरको नामबाट राखिएको हुनुपर्दथ्यो । आज हामी भन्न चाहन्छौँ, यो शिखरको नाम राधानाथ सिकदरको नामबाटै हुनुपर्छ । भारतले यसका लागि अभियान चलाउनुपर्छ, भारतका जनताले पनि अभियान चलाउनुपर्छ । हामीले पनि माउन्ट एभरेस्टमाथि आफ्नो दाबी पेस गर्नुपर्छ, पूरै दुनियाँका सामुन्ने । ’

उनले पछि स्टुडियोमा पुनः फर्किएर आफूले उक्त यात्रा जीवनभर भुल्न नसक्ने बताउँदै आफ्नो यो यात्राले माउन्ट एभरेष्टको सही अर्थ र महत्व बुझाउने कुरामा आफू आशावादी भएको बताएका छन् । उनले यसबारेमा छ महिनाअघि पनि रिपोर्ट बनाएका थिए ।

स्रोतका अनुसार ‘रअ’ प्रमुख सामन्त गोयललाई नेपाल ल्याउन मध्यस्ता गर्ने टोलीले नै चौधरीलाई नेपाललाई ल्याएर प्रधानमन्त्रीसँग अन्तरवार्ता गर्ने चाजोपाजे मिलाएको थियो ।-रातो पार्टी

प्रकाशित : २०७७ पुष २९ गते ८:११
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI