प्रचण्ड र नेपाल आलोपालो अध्यक्ष

NAWALPUR TIMES

प्रचण्ड र नेपाल आलोपालो अध्यक्ष
madhav prachanda11111111

काठमाडौं, २० पुष । नेकपा (दाहाल–नेपाल) समूहको पार्टी बैठकमा दुवै अध्यक्षले आलोपालो अध्यक्षता गर्न सुरु गरेका छन्। अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव नेपाल बराबरी हैसियतमा रहने व्यवस्थाअनुसार आलोपालो अभ्यास सुरु भएको हो। आइतबारको बैठकको अध्यक्षता अध्यक्ष नेपालले गरेका हुन्।

यसअगाडि पुस ७ र ९ गते स्थायी समिति बैठकको अध्यक्षता दाहालले गरेका थिए। पार्टी केन्द्रीय नेताहरूको कार्यविभाजन र एकता एकीकरणका बाँकी काम सम्पन्न गर्ने गरी प्रस्ताव तयार पार्न दाहाल–नेपाल समूहको स्थायी समिति बैठकले अध्यक्ष माधव नेपालको संयोजकत्वमा शक्तिशाली कार्यदल गठन गरेको छ। आइतबार जनवर्गीय संगठनको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले नेपालको संयोजकत्वमा १० सदस्यीय कार्यदल गठन गरेको स्थायी समिति सदस्य पम्फा भुसालले बताइन्।

कार्यदलमा स्थायी समिति सदस्यहरू गिरिराजमणि पोखरेल, पम्फा भुसाल, गोकर्ण विष्ट, घनश्याम भुसाल, जनार्दन शर्मा, वर्षमान पुन, सुरेन्द्र पाण्डे, वेदुराम भुसाल र शक्ति बस्नेत छन्। यो कार्यदलले सात दिनभित्र गृहकार्य गरी प्रस्ताव तयार पार्नेछ। ‘सकेसम्म छिटो गर्ने गरी बढीमा सात दिनभित्र कार्यविभाजन गर्ने गरी कार्यादेश तोकिएको छ’, नेतृ भुसालले भनिन्। कार्यदलले केन्द्रीय सदस्य, प्रदेश पदाधिकारीलगायतका नेताहरूको समेत कार्यविभाजन प्रस्ताव तयार पार्नेछ। एकीकरण र एकताको बाँकी काम टुंग्याउने गरी प्रस्ताव बनाउनेछ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology