चार वर्षीया बालिकामाथि करणी गर्ने १५ वर्षे बालकलाई साढे १२ वर्ष जेल सजाय

NAWALPUR TIMES

चार वर्षीया बालिकामाथि करणी गर्ने १५ वर्षे बालकलाई साढे १२ वर्ष जेल सजाय
arrest final

उदयपुर । जिल्ला अदालत उदयपुरले एक स्थानीय चार वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्लाको कटारी नगरपालिका–५ का एक १५ वर्षीय बालकलाई १२ वर्ष छ महिनाको जेल सजाय फैसला गरेको छ ।

बुधबार जिल्ला न्यायाधीश दीपक खनालको इजालासले कटारी नगरपालिका–५ का १५ वर्षीय बालकलाई बालिका बलात्कारको कसुरमा १२ वर्ष छ महिनाको जेल सजाय गर्ने फैसला गरेको अदालतका तहसिलदार राजकुमार आचार्यले बताए ।

यस्तै सोही किशोरसँगै सामूहिकरुपमा चार वर्षीया बालिका बलात्कार गर्ने अर्का ११ वर्षीय बालकलाई अदालतले अनुसन्धानसम्मको जेल सजायपछि बाँकी सजाय स्थगन गरेर सजाय मुक्त गरेको पनि जिल्ला अदालत उदयपुरले बताएको छ ।

विसं २०७६ सालको चैत ६ गते दुवैले स्थानीय छिमेकी  बालिकालाई सामूहिक बलात्कार गरेको अभियोगसहित इलाका प्रहरी कार्यालय कटारीमा पीडित बालिकाका आफन्तले प्रहरीमा जाहेरी दिएका थिए ।

प्रहरीमा उजुरी परेलगत्तै इलाका प्रहरीले पक्राउ गरेर दुवैलाई अनुसन्धानका लागि बाल सुधार गृहमा राखेर बलात्कारसम्बन्धी मुद्दा चलाएको थियो ।

बुधबार मुद्दा फैसला हुँदा ११ वर्षीय बालकको बाँकी कारवाही स्थगन भएको थियो भने १५ वर्षीय किशोरविरुद्ध १२ वर्ष छ महिनाको जेल सजायको फैसला भएको जिल्ला अदालत उदयपुरले बताएको छ ।

जेल सजाय पाएका किशोरलाई बालक भएका कारण १८ वर्ष हुँदासम्म विराटनगरस्थित सुधारगृहमा राख्ने र त्यसपछि कारागार पठाउने तयारी गरिएको पनि अदालतका सूचना अधिकारी तथा तहसिलदार आचार्यले बताए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology