काठमाडौं । नेपाली टेलिभिजनको इतिहासमा सर्वाधिक चर्चित मानिएको रियालिटी शो नेपाल आइडलको सिजन–३ को ग्राण्ड फिनाले भदौ १२ गते हुँदैछ ।
कोरोना भाइरसका कारण सर्दै आएर भदौ १२ मा फिनाले हुन लागेको हो । यसअघि चैतमा हुनुपर्ने फिनाले कोरोना भाइरसको महामारीका कारण हुन सकेन ।
तारे होटलमा तामझामका साथ हुने भनिए पनि त्यो कोरोनाका कारण सरेको थियो ।
अहिले कोरोना झन् तीव्र गतिमा बढे पनि अब त्यसको फिनाले १२ गते नै गर्ने गरी तयारी गरिएको आयोजकले जनाएको छ ।
को को छन् फिनालेका प्रतिस्पर्धी ?
यस सिजनमा टप ३ मा एक महिला र दुई पुरुष रहेका छन् । मोरङकी सज्जा चौलागाँई तथा महोत्तरी बर्दिबासका किरण भुजेल र बर्दियाका प्रवीण भेटवाल रहेका छन् ।
सज्जालाई दुई पुरुष गायकले टक्कर दिए पनि यसपटक सज्जा बलियो रुपमा प्रस्तुत भएकी छिन् ।
तीनै जनाको फरक फरक गायकी शैली भएका कारण यस पटकको प्रतिस्पर्धा थप रोचक हुने अनुमान गर्न सकिन्छ । शास्त्रीय संगीतमा विशेष क्षमता भएका प्रविन धेरै संगीतकर्मीहरुको नजरमा परिसकेका छन् । नेपाल आइडलमा पहिलो पटक ‘वाइल्ड कार्ड’ प्रवेशबाट किरण भुजेलले उत्कृष्ट ३ को यात्रा सुनिश्चित गरेका हुन् ।
यस पटकको आइडलको उपाधि महिलाले लैजानु पर्छ भन्ने शुभेच्छाका कारण सज्जा केही दवावमा पनि परेकी छिन् । रक पप जनरामा अब्बल सज्जाले आफ्नो गायकी जादूबाट धेरै प्रशंसक कमाएकी पनि छन् । उनको गायकी क्षमताको आईडलका निर्णायकहरु नै प्रशंसक रहेका छन् ।
सज्जाका लागि यसपटक क्याम्पेनिङ पनि गरिएको छ । फेसबुकमार्फत उनलाई भोटिङका लागि निरन्तर सन्देशहरु समेत आइरहेका छन् ।
पहिलो नेपाल आइडलको विजेता पोखराका बुद्ध लामा भएका थिए भने दोस्रो नेपाल आइडल रवि ओड भएका थिए ।
प्रकाशित : २०७७ भदौ ७ गते २२:३९
Facebook Comment