मन्त्री नै नभएका धनराजसँग सर्वाधिक मन्त्री भएका विजयको पराजय

NAWALPUR TIMES

मन्त्री नै नभएका धनराजसँग सर्वाधिक मन्त्री भएका विजयको पराजय
dhanraj gurung jcHHch8VMm

नेपाली कांग्रेसको उपसभापतिमा कांग्रेस भित्रको ‘तेस्रो पुस्ता’बाट धनराज गुरुङले बाजी मारेका छन् । बुधवार मध्यरातमा सम्पन्न मतगणनामा कांग्रेसभित्र प्रभावशाली मानिएका विजय गच्छदारलाई पराजित गर्दै गुरुङ उपसभापति निर्वाचित भएका हुन् । अत्यन्त प्रतिस्पर्धात्मक निर्वाचनमा गुरुङले २ भोटले गच्छदारलाई पराजित गरे । धनराजले १ हजार ९०८ मत पाउँदा गच्छदारले १ हजार ९०६ मत प्राप्त गरे । मतगणनाका क्रममा शुरूआती अग्रता लिएका गुरुङलाई गच्छदारले बीचमा केही समय पछि पारेका थिए । उपसभापतिमा पूर्णबहादुर खड्काले २ हजार १२१ मत प्राप्त गरेका छन् । डा. शेखर कोइराला प्यानलबाट उपसभापतिका अर्का प्रत्यासी डा. चन्द्र भण्डारीले १ हजार ५८० मत प्राप्त गरेका छन् । गुरुङको विजयसँगै कांग्रेस पदाधिकारीमा डा. शेखर कोइराला प्यानलले खाता खोलेको छ । धनराजको विजयसँगै अन्य पदाधिकारीमा पनि मिश्रित नतिजा आउने सो प्यानलका नेताहरूले विश्वास गरेका छन् । महामन्त्री पदको मतगणना बिहीवार बिहानबाट हुँदैछ । महामन्त्रीमा गगनकुमार थापा, डा. मीनेन्द्र रिजाल, डा. प्रकाशशरण महत, प्रदीप पौडेल र विश्वप्रकाश शर्माबीच प्रतिस्पर्धा छ ।

 

को हुन् धनराज ?

 

जीवनमा कहिल्यै मन्त्री नबनेका धनराज गुरुङले सर्वाधिक पटक मन्त्री बनेका गच्छदारलाई पराजित गरे । स्याङ्जामा जन्मेका गुरुङले २०३६ सालदेखि नेपाल विद्यार्थी संघबाट राजनीति शुरू गरेका थिए । उनी २०५३ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सभापति बनेका थिए । पछि उनी तरुण दलको महामन्त्री बनेका थिए ।

कांग्रेसको १२औं र १३औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित गुरुङ पहिलो संविधान सभामा सदस्य थिए । राष्ट्रियता, जनजीविका र सुशासनको मुद्दामा उनी प्रखर रूपमा बोल्दै आएका छन् ।

पार्टी प्रशिक्षणको क्रममा देशका प्रायः जिल्लामा घुमेका कारण उनी कार्यकर्तामाझ लोकप्रिय छन् । जिल्लामा घुमेको र प्रशिक्षणमा सहभागी भएका कारण कतिपयलाई आश्चर्य तुल्याउँदै गुरुङले उपसभापतिमा विजय हासिल गरे ।

गुरुङको विजयसँगै कांग्रेस नेतृत्वमा शेखर कोइराला प्यानलको आवाज बुलन्द हुने संकेत देखिएको छ । बुधवार यो प्यानलले प्रतिनिधिलाई धन्यवाद दिन आयोजना गरेको कार्यक्रममा पनि उनले कार्यकर्तालाई उत्साहित बनाउने भाषण गरेका थिए ।

उपसभापतिको मतगणनामा शुरूआती अग्रता लिएसँगै गुरुङ मतगणना भइरहेको पार्टी कार्यालयमा पुगेका थिए । उपसभापतिमा विजयी भएसँगै उनले आफू सबै कांग्रेसको उपसभापति भएको भन्दै गुटबन्दी बिर्सने बताएका छन् ।

कोइराला प्यानलबाट उपसभापतिमा उठेका भण्डारी भने पराजित भएका छन् ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology