नेपालमा १०९ राजनीतिक दल

NAWALPUR TIMES

नेपालमा १०९ राजनीतिक दल
election commission nirbachan aayog

काठमाडौं । स्थानीय तहको आगामी वैशाख ३० गते हुने निर्वाचन प्रयोजनका लागि १० राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता गराएका छन् ।

आयोगका अनुसार जनमत पार्टी, मङ्गोल नेशनल अर्गनाइजेशन, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय नागरिक पार्टी, जनता प्रगतिशील पार्टी नेपाल, नेपाल लोकतान्त्रिक पार्टी, देशभक्त समाज, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी र मौलिक जरोकिलो पार्टी दर्ता भएका हुन् ।

नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐनअनुरूप आयोगमा नेपाल कम्युनिष्ट पार्टी (गौरवशाली), साझा पार्टी नेपाल र समावेशी लोकतान्त्रिक पार्टीसहित आयोगमा हालसम्म दर्ता भएका राजनीतिक दलको सङ्ख्या १०९ पुगेको छ ।

मतदाता नामावली सङ्कलन अन्तिम तथा मतदाता नामावाली अद्यावधिकको विषय राजपत्रमा प्रकाशन गर्ने प्रयोजनका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सूचना सम्पादनका लागि आइतबार पठाइएको आयोगद्वारा आज आयोजित पत्रकार भेटघाटमा सहायक प्रवक्ता सूर्यप्रसाद आर्यालले जानकारी दिए ।

मतदाता नामावली अद्यावधिक कार्यअन्तर्गत कुनै मतदाताले मतदाता नामावलीमा भएको आफ्नो विवरणमा कुनै त्रुटि भए सच्याउन वडा कार्यालयको सिफारिससहित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

यसअघि मतदाता परिचयपत्र पाई हराएको, नासिएको वा अन्य कुनै तवरले आफूसँग नरहेको अवस्थामा मतदाताले आफ्नो वडा कार्यालयको सिफारिससहित प्रतिलिपि परिचयपत्रका लागि सम्बन्धित निर्वाचन कार्यालयमा यही फागुन २० गतेभित्र निवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

आयोगले प्रतिस्पर्धात्मक आधारमा २३ प्रकारका निर्वाचन सामग्रीको खरिदका लागि आइतबार बोलपत्रसम्बन्धी सूचना प्रकाशन गरिसकेको छ ।

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology