तिहारको चौँथो दिन आज गाई र गोरु तिहार, साँझ म्ह पूजा

NAWALPUR TIMES

तिहारको चौँथो दिन आज गाई र गोरु तिहार, साँझ म्ह पूजा
gai 1605405605

कावासोती – यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई र गोरुको पूजा गरेर मनाइँदैछ। नेवार समुदायले आजै साँझ म्ह पूजा गर्दैछन्।

गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वास छ। गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए।

आजैका दिन कृषि कर्म गर्न हलो जोतेर वर्षभर साथ दिने गोरुलाई समेत पूजा गरी मीठो मीठो खान दिने गरिन्छ। गोरुको साथमा जोत्ने हलीलाई समेत पूजा गरी खाना खुवाइन्छ। यसैले आजको दिनलाई गाईतिहार र हलीतिहार समेत भन्ने गरिन्छ। आज गाई, गोरु र हलीलाई समेत मीठा कुरा खान दिइन्छ।

आजैका दिन बेलुकी घर घरमा ‘देऊ शुभ’ भनी देउसी खेल्ने गरिन्छ। ‘देऊ शुभ’ भन्ने क्रममा अपभ्रंश भई देउसी भएको समितिका अध्यक्ष गौतमले जानकारी दिए।

आजै साँझ नेवार समुदायले आफूले आफैँलाई पूजा गरेर म्हः पूजा मनाउँदैछन्। कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ। आत्मा नै सबैभन्दा ठूलो हो भन्ने मान्यताअनुसार म्ह पूजा गर्ने परम्परा बसेको हो।

विगत वर्ष जस्तै म्ह पूजा आज र भोलि गर्न नेवार समुदाय विभाजित भएका छन्। नेपाल संवतकै दिन आत्म पूजा गर्नेले सोमबार गर्न लागेका हुन्।

म्ह पूजाको प्रचलन पाँच हजार वर्षदेखि चलिआएकाले एक हजार १४१ वर्ष अघिदेखि शुरु भएको नेपाल संवतसँग जोड्नु नहुने पंचाङ्ग निर्णायक समितिका सदस्य कीर्तिमदन जोशीले बताए। धर्मशास्त्र र ज्योतिष विषयमा नजानेकाले राजनीतिक दबाबका भरमा चाडबाडमाथि हस्तक्षेप गर्दा यस्तो समस्या आएको उनको भनाइ छ।रासस

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology