गर्भवती श्रीमतीलाई कोरोना भएपछि श्रीमान् बेपत्ता, वडाध्यक्षले उद्धार गरे

NAWALPUR TIMES

गर्भवती श्रीमतीलाई कोरोना भएपछि श्रीमान् बेपत्ता, वडाध्यक्षले उद्धार गरे
jhapa photo 2YVNiycdqZ

मेचीनगर नगरपालिका १३ स्थित चाराआली बजार नजिकै डेरा गरी बस्दै आएका एक व्यक्तिले गर्भवती श्रीमतीलाई बेवारिसे छाडेर सम्पर्कविहीन बनेका छन्।

 

 

संक्रमण पुष्टि भएपछि घरबेटीले समेत डेरा बस्न नदिएको ती महिलालाई श्रीमानले मंगलबार साँझ चारआलीस्थित आइतबारे बजारको टहरामा बेवारिसे छाडेर फरार भएका मेचीनगर-१३ वडाध्यक्ष कृष्णराज सिग्देलले जानकारी दिए।

ती महिलाले आइतबार मेची अञ्चल अस्पतालमा आएर पिसिआर परीक्षण गराएकी थिइन्। सोमबार आएको रिपोर्टमा उनलाई कोरोना पोजेटिभ देखिएको थियो। त्यसपछि श्रीमानले उनलाई टहरा लगेर छाडेका हुन्।

वडाध्यक्ष सिग्देलका अनुसार वडाभित्रका घटना भएकाले जिम्मेवारी वहन गर्दै ती महिलालाई टहराबाट उद्धार गरी एम्बुलेन्समा हालेर मेचीनगर नगरपालिकाले बनाएको कोभिड आइसोलेसनमा लगेको बताए।

नगरपालिकाको आइसोलेसनमा संक्रमित बिरामीका आफन्तबिना राख्न नमिल्ने भन्दै उनलाई त्यहाँ राख्न सकिएन। त्यसपछि घटनाबारे नगरपालिकाका मेयर विमल आचार्य, उपमेयर मीना पोखरेल उप्रेतीलगायत कोभिड आइसोलेसन वार्डमा कार्यरत चिकित्सकसमेतलाई जानकारी गराएको उनले बताए।

भने, ‘उनीहरूले पनि हुँदैन भनेपछि ती संक्रमित महिलालाई भद्रपुरस्थित मेची अस्पतालको कोभिड उपचार केन्द्रमा लगेर भर्ना गरेको छु, महिलाको साथमा उनकी बडीआमा पनि आएकी छन,’ उनले भने।

‘नगरवासीको स्वास्थ्य उपचारमा सहज होस् भनेर एमबिबिएस डाक्टरसहित स्थापना गरिएको नगरपालिकाको आइसोलेसनमा नगरभित्रै बसोबास गर्ने नागरिकलाई पनि उपचारका लागि अन्यत्र नै लैजानुपर्दा आफूलाई दुःख लागेको छ,’ उनले भने।

दमक नगरपालिका-५ सन्देश कँडेलसँग ती महिलाले २०७७ साल मङ्सिरमा प्रेम विवाह गरेको खुलेको छ। श्रीमान् कँडेल पेसाले गाडीका सहचालक हुन्। महिलाको माइती चारआली नै हो।

विवाहपश्चात् उनीहरू यहाँ डेरा गरी बस्दै आएका थिए। महिलाको उमेर १७ वर्ष रहेको वडाध्यक्ष सिग्देलले बताए।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology