कावासोती । राष्ट्रिय गौरवको आयोजना र रणनीतिक दृष्टिकोणले निकै महत्त्वपूर्ण रहेको काठमाडौँ–तराई–मधेस द्रूतमार्ग अर्थात् फास्ट ट्रयाक निर्माणको कामले गति लिएको छ ।
नेपाली सेनाको व्यवस्थापन र पूर्ण निगरानीमा निर्माण भइरहेको यो आयोजना २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ । तर नीतिगत जटिलता, भौगोलिक कठिनाइ र जग्गा अधिग्रहण जस्ता विभिन्न कारणले निर्माण कार्यले गति लिन सकिरहेको थिएन ।
अब भने कामले गति लिएको नपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए । काठमाडौँ–तराई–मधेस द्रूतमार्ग सडक आयोजनाको आव २०८१–८२ को अद्यावधिक विवरण अनुसार आयोजनाको २०८२ असार मासान्तसम्मको समष्टिगत भौतिक प्रगति ४२.१३ प्रतिशत रहेको छ ।
यसैगरी समष्टिगत वित्तीय प्रगति ४४ प्रतिशत (मोबिलाइजेशनसहित) रहेको छ ।
आयोजनाको समष्टिगत कार्ययोजना अन्तर्गत रहेका १३ वटा निर्माण प्याकेजहरुमध्ये हालसम्म प्याकेज नं १, २, ३, ४, ५, ६, ७, ८क, ८ख, ९क, ९ख र १० निर्माणाधीन तथा कार्यान्वयनको चरणमा रहेको छ ।
प्याकेज नं ११ अन्तर्गत पर्ने खोकना–डुकुछाप खण्डमा जग्गा अधिग्रहण र द्रूतमार्गको शुरु बिन्दु र सवारी आवागमन व्यवस्थापन सम्बन्धमा समन्वय गर्ने कार्य भइरहेको छ ।
आयोजनाको हालसम्मको समष्टिगत खर्च ८० अर्ब ५४ करोड रहेको छ। जग्गा खरिदको लागि दिइएको पेश्की रु १ अर्व ६५ करोड तथा निर्माण व्यवसायीलाई पेश्की दिइएको ८२.३७ करोड र विद्युत प्राधिकरणको लागि पेश्की दिइएको रकम रु ९.८१ करोडसहित कुल २ अर्व ५७ करोड राजश्व दाखिला गरिएको रकमसमेत समावेश गरिएकोले आयोजनाको खुद खर्च ७७ अर्ब ९७ करोड रहेको छ ।
नमूना सडक बन्दै लेनडाँडा खण्ड
फास्ट ट्रयाक सडक अन्तर्गत लेनडाँडा खण्डमा सडक निर्माण कार्य ६१ प्रतिशत सम्पन्न भएको छ । सो खण्ड अन्तर्गत ६ वटा पुल जसका कुल लम्बाई ११०७ मिटर रहेको छ भने २ वटा डबल ट्युब सुरुङमार्गको ब्रेक थ्रु भई फिनिसिङ काम भइरहेको छ । त्यस्तैगरी ५ वटा कलभट पूर्णरुपमा निर्माण सम्पन्न भएको छ ।
सो सडक खण्डमा ८१ मिटरका अग्लो पुलको फाउन्डेसन निर्माण गरी सुपरस्टक्चर निर्माणको काम थालिएको छ भने फास्ट ट्रयाक सडक पहिलो पुल पुल नं ३५, ३३३ मिटर लम्बाईको पुल निर्माण सम्पन्न भई सवारी साधन समेत सञ्चालन गरिएको छ ।
प्रकाशित : २०८२ साउन १८ गते १३:०४
Facebook Comment