नारायणघाट बुटवल सडक : देखिन थाल्यो प्रगति

NAWALPUR TIMES
प्रकाशित : २०८१ फागुन २३ गते ९:२२
नारायणघाट बुटवल सडक : देखिन थाल्यो प्रगति

कावासोती । राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडी बढाईएको नारायणघाट बुटवल सडकको बिस्तारको काममा निर्माण कम्पनीले तिब्रता दिए सँग सडकको भौतिक प्रगति देखिन थालेको छ ।

सरकारको पटक–पटकको निर्देशन र खबरदारी बेवास्ता गरेको चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले अहिले भने सडक पिच गर्ने कार्यलाई तीव्रता दिएको हो ।

कुल १ सय १४ किलोमिटर सडकलाई दाउने पुर्व र पश्चिम गरि दुई खण्डमा विभाजन गरेर काम अगाडी बढाईएको भए पनि गत मंसिर सम्म सडक बिस्तारको काम निकै सुस्त देखिएको थियो तर पछिल्लो पटक थप गरिएको म्याद सकिन ५ महिना बाँकी रहँदा पूर्वी र पश्चिम दुवै खण्डमा तीव्र रूपमा काम भइरहेको आयोजना निर्देशनालयले जनाएको छ ।

आयोजना निर्देशनालय पुर्वी खण्डका सूचना अधिकारी ईन्जिनियर शिव खनालका अनुसार पुर्वी खण्डको ६५ किलोमिटर मध्य ४३ किलोमिटर सडक गाडी गुडन मिल्ने गरि कालोपत्रे भएको छ । यहि रफतारमा काम भए वैशाख महिना सम्म पुर्वी खण्डको दाउन्ने बाहेकका क्षेत्रमा एकतर्फी कालोपत्रेको काम सकिने उनले बताए । खनालका अनुसार अहिले अहिले दुम्कीबास, अरुणखोला, चोरमारा क्षेत्रमा तीव्रताका साथ काम भइरहेको छ ।

यसै गरि सडकको पश्चिम खण्डमा समेत सडक बिस्तारको काम तिब्रताका साथ अगाडि बढेको आयोजना निर्देशनालयले दाबी गरेको छ । पश्चिम खण्डमा ४९ किलोमिटरमध्ये २५ किलोमिटर पिच सडकमा गाडी गुड्न पाउँछन् । अहिलेसम्म  ४० किलोमिटर पिच सकिएको पश्चिम खण्डका सूचना अधिकारी बेचनकुमार भण्डारीले बताए । उनका अनुसार बर्दघाट, खैरेनी, सुनवल, बुटवल, भलुही सबै खण्डमा कतै कालोपत्रे, कतै कालोपत्रेको तयारीको काम भइरहेको छ ।

चालू आर्थिक वर्षमा पुल र कल्भर्टबाहेक २ लेनको सडक दाउन्नेसम्म बन्नेछ । दाउन्ने क्षेत्रमा १०३ वटा ठूला कल्भर्ट बनाउनुपर्ने हुन्छ । जसमध्ये धेरैजसो काम सकिएको छ ।

चाइना स्टेट ईन्जिनियरिङ कर्पोरेसनले १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँमा ६ वर्षअघि ठेक्का लिएर निर्माण शुरू गरेको थियो । वि.सं. २०७९ साउन २२ गतेभित्र सक्ने गरी २०७५ चैतमा ८ मा ठेक्का लगाइएको थियो ।

सरकारले सडकको ठेक्काको म्याद २०७९ भदौमा पहिलोपटक, २०८० साउनमा दोस्रोपटक र २०८१ साउनमा तेस्रोपटक थप गरेको छ । तेस्रोपटक थपिएको म्याद अनुसार २०८२ साउन ८ सम्म काम सकिसक्नुपर्ने हुन्छ । अहिलेसम्म भौतिक प्रगति ५८ प्रतिशत छ । कम्तीमा अझै एकपटक म्याद थप गर्नुपर्ने देखिन्छ । यो खण्डमा रूपन्देही, पश्चिम नवलपरासी र नवलपुर जिल्लाका गैँडाकोट, देवचुली, कावासोती, मध्यबिन्दु, विनयीत्रिवेणी, बर्दघाट, सुनवल, देवदह, बुटवलसहित दर्जन बढी पालिका तथा बस्तीहरू जोडिएका छन् ।

चितवनको नारायणगढ र रुपन्देहीको बुटवललाई जोड्ने यो प्रतिघण्टा ८० किलोमिटरको ‘हाई स्पीड’ सडक हो । ३ वर्षभित्र काम सक्ने भनेर वि.सं. २०७५ चैतमा प्रधानमन्त्री ओलीले नै शिलान्यास गरेका थिए ।

११४ किमी सडकमध्ये ७० किमी ४ लेन, २९ किमीबीचमा ४ लेन तथा दुवैतर्फ ६–६ मिटरको सर्भिस लेन अनि पहाडी भेग र जोखिम बढी रहेको क्षेत्र मानिने दाउन्नेको १४ किमी खण्डमा ३ लेनको सडक बनाउने सम्झौतामा उल्लेख छ ।

प्रकाशित : २०८१ फागुन २३ गते ९:२२
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI