कावासोतीमा ठेकेदारको लापरबाहीले करोडौँको खानेपानी आयोजना अलपत्र

दीपक भट्टराई
प्रकाशित : २०८२ भदौ ६ गते १५:३९
कावासोतीमा ठेकेदारको लापरबाहीले करोडौँको खानेपानी आयोजना अलपत्र

कावासोती । नवलपुरको कावासोती नगरपालिका–१३ का स्थानीय बासिन्दा वर्षौंदेखि खानेपानी अभावमा पिडित भइरहेका छन्। करिब चार हजार घरधुरीलाई लक्षित गरी निर्माण सुरु गरिएको करोडौँ रुपैयाँ लागतको खानेपानी आयोजना ठेकेदारको लापरबाहीका कारण वर्षौँदेखि अधुरै छाडिएको छ।  ओभरहेड ट्यांकी, पाइपलाइन र संरचना निर्माण अलपत्र अवस्थामा हुँदा स्थानीयले आजसम्म शुद्ध खानेपानीकाे  सुविधा पाउन सकेका छैनन्।

कावासोती नगरपालिका–१३ का स्थानीय बासिन्दा वर्षौंदेखि खानेपानी अभावमा पिडित छन्। घर आँगनमा धारा नआउँदा स्थानिय खानेपानीबाट समेत बन्चित हुनु  परेकाे छ ।
करिब पाँच वर्षअघि सुरु गरिएको खानेपानी आयोजना आजसम्म अलपत्र छाडिँदा स्थानीय पिडित बनेका हुन

२०७७ साल असार २१ गते सम्झौता भएको बौनाहा खानेपानी आयोजना दुई वर्षभित्र अर्थात् २०७९ असारसम्म सम्पन्न गर्ने सम्झौतामा उल्लेख थियो। तर, समयमै काम अघि नबढ्दा आयोजनाको निर्माण पाँच वर्ष बितिसक्दा  निर्माण सम्पन्न हुन  सकेको छैन।

बाैनाहा खानेपानी उपभोक्ता समितिका अध्यक्ष उत्तम लामिछानेका अनुसार, आयोजना निर्माणको जिम्मा पाएको प्राकृतिक–काश्यप–समिर जे.भी. कम्पनी पटक–पटक समय थप्दै ढिलाइ गरिरहेको छ। “हामीले ठेकेदारलाई बारम्बार दबाब दिएका छौं। जनप्रतिनिधिसहित टोली बनाएर डेलिगेशन पनि गयौं। तर ठेकेदार टसमस छैन। अहिले ओभरहेड ट्यांकी अलपत्र छ, स्थानीय भने दैनिक खानेपानी अभावमा छटपटाइरहेका छन्,”  अध्यक्ष लामिछानेले भने।

२०७९ असारमा सकिनुपर्ने आयोजना कोरोना महामारीलाई बहाना बनाएर २०८० सम्म म्याद थपियो। त्यसपछि पनि काम सम्पन्न नहुँदा २०८१ सम्म फेरि सरकारबाट समय थपियो। तर, अझैसम्म काम सम्पन्न भएको छैन। ३ करोड ९२ लाख ६५ हजार ८ सय ७ रुपैयाँ लागत अनुमान गरिएको सो आयोजना अन्तर्गत हालसम्म ठेकेदार कम्पनीले करिब १ करोड ९ लाख रुपैयाँ भुक्तानी पाइसके पनि बाँकी काम रोकिएको अवस्थामा छ। “बीचमा केही काम गर्ने जस्तो देखाए पनि कम्पनीले गम्भीर चासो देखाएन। २ वर्षमा सम्पन्न हुनुपर्ने काम ५ वर्ष बित्दा पनि अधुरो छ,” स्थानीय कृष्णप्रसाद पौडेलले भने।

कावासोती–१३ का वडा अध्यक्ष लालबहादुर गुरुङले पनि ठेकेदार कम्पनीको ढिलासुस्तीप्रति गम्भीर असन्तोष व्यक्त गरे। “पटक–पटक आग्रह गर्दा पनि ठेकेदार कम्पनीले काम सम्पन्न गर्ने चासो देखाएको छैन। बहानामै समय थप्दै आयोजना अलपत्र पारेको छ। यसले यहाँका बासिन्दालाई ठूलो पीडा दिएको छ,” गुरुङले भने। “हामीले पटक–पटक सम्बन्धित निकायसँग आग्रह गरेका छौं। काम नसक्ने कम्पनीलाई कारबाही गर्नुपर्छ। नत्र हाम्रो   सपना अधुरै रहन्छ,” अध्यक्ष लामिछानेले भने।  उनले २ बर्षमै सकिने काम ५ बर्ष हुदा सम्म पनि निर्माण सम्पन्न हुन नसकेकाेमा आक्राेष पाेखे ।

नवलपुरका खानेपानी आयोजना डिभिजन खानेपानी कार्यालय तनहुँले हेर्दै आएको छ। सो कार्यालयका इञ्जिनियर महेन्द्र आचार्यले ठेकेदार कम्पनीको लापरबाहीकै कारण आयोजना अलपत्र भएको स्वीकारे। उनले भने, “काम सम्पन्न नभएकाले हामीले अझै भुक्तानी नबढाएका हौं। र नबिकरण पनि गरेका छैनाै  अब के गर्ने भन्नेबारे छलफल भइरहेको छ। पुनः टेन्डर गर्ने कि पुरानै कम्पनीलाई कारबाही गरेर काम अगाडि बढाउने विषयमा विचार भइरहेको छ।”आचार्यले  दशैंपछि रोकिएको निर्माण काम सुचारु गर्ने तयारी भइरहेको बताए

प्रकाशित : २०८२ भदौ ६ गते १५:३९

ताजा अपडेट

Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI