धेरैजसो मानिसहरू साथी, आफन्त वा सामाजिक सञ्जालमा देखिएका छिटो नाफा कमाउने सफलताको कथाहरू सुनेर सेयर बजारमा प्रवेश गर्छन्। बाहिरबाट हेर्दा यो सजिलो देखिए पनि, छोटो बाटो अपनाउने जो–कोहीलाई बजारले सजिलै पाठ पढाउन सक्छ। Warren Buffett ले सम्झाउनु भएको छ, “The stock market is a device for transferring money from the impatient to the patient.” अर्थात् सेयर बजार अधैर्य मानिसबाट धैर्यवान् मानिसतर्फ पैसा सार्ने यन्त्र हो।
Peter Lynch ले स्पष्ट रूपमा भनेका छन्, “In this business, if you’re good, you’re right six times out of ten.” अर्थात् यस व्यवसायमा तपाईं अत्यन्तै सक्षम हुनुहुन्छ भने पनि १० मध्ये ६ पटक मात्र सही हुनुहुन्छ। यही कारणले सेयर बजारलाई छिटो आम्दानीको ग्यारेन्टी भएको स्थान ठान्नु गलत हुन्छ। यहाँ स्थिर प्रतिफल कमाउनु क्याल्कुलेटरको यान्त्रिक जोड–घटाउजत्तिकै सरल गणित होइन; बजारबारे अतिरञ्जित हल्ला र सामाजिक सञ्जालका विजय–पोस्टले चित्रण गर्ने सजिलो मार्गभन्दा धेरै गहिरो धैर्य, कठोर अनुशासन र समयले लिने दीर्घ परीक्षाको दह्रो साधना हो।
विशेष गरी सुरुवातमा, यसलाई मुख्य वा पूर्णकालिक आम्दानीको स्रोतको रूपमा लिनु हुँदैन। अझ बुद्धिमानी उपाय भनेको जागिर वा स्थिर व्यवसायबाट बचत भएको रकमबाट बिस्तारै लगानी गर्दै जानु, र सेयरलाई पार्ट-टाइम, दीर्घकालीन सम्पत्ति निर्माणको साधनको रूपमा हेर्नु हो। पछिल्ला केही वर्षमा मैले धेरै मानिसहरूलाई नियमित जागिर छोडेर केवल ट्रेडिङमा निर्भर भएको देखेको छु, तर अन्त्यमा तनाव, निराशा र कहिलेकाहीँ ठूलो घाटासमेत भोग्नुपरेको दृष्टान्त धेरै छ। Benjamin Graham ले चेतावनी नै दिएका छन्, “In the short run, the market is a voting machine but in the long run it is a weighing machine.” अर्थात् छोटो अवधिमा बजार हल्ला र भावनाले चल्न सक्छ; तर दीर्घकालमा धैर्य, अनुशासन, निरन्तर सिकाइ र साँचो रुचिलाई नै प्रतिफल मिल्छ।
सुरुवातीमै Benjamin Graham ले भनेझैँ, लगानीकर्ताले हरेक दिन “something foolish, something creative, and something generous” गर्न सक्नुपर्छ भन्ने विचारले सफल लगानीको मानसिकता सुरु हुन्छ। सफल हुन लगानीकर्ताले कहिलेकाहीँ “मूर्ख” हुनुपर्छ, अर्थात् भीडभन्दा फरक सोचेर सानो तर गणनायुक्त जोखिम लिन तयार; “सिर्जनशील” हुनुपर्छ अर्थात् नयाँ दृष्टिकोणबाट अवसर खोज्न सक्षम; र “उदार” हुनुपर्छ अर्थात् छोटो नाफाभन्दा ज्ञान, अनुशासन र दीर्घकालीन मूल्यलाई प्राथमिकता दिन सक्ने परिपक्वता। यसलाई सही अर्थमा बुझ्दा यो जुवा खेल्नुस् भन्ने सन्देश होइन, बरु बजारको हल्ला–कोलाहलबीच स्वतन्त्र सोच राख्ने, आवेगलाई नियन्त्रण गर्ने र सिद्धान्तमा अडिग रहने क्षमता हो। बजारले निरन्तर हाम्रो धैर्यको परीक्षा लिन्छ र आवेगले गरिएको निर्णयलाई दण्डित गर्छ; त्यसैले सानो तर मापन गरिएको जोखिम, निरन्तर सिकाइ, अनुशासन, र दीर्घकालीन सोचलाई बानीमा बदल्न सकेकै अवस्थामा स्थायी सफलता सम्भव हुन्छ।
मेरो लगानी यात्रामा सबैभन्दा रोचक अनुभवमध्ये एक NRIC शेयरसँग जोडिएको छ। NRIC सूचीकृत भएको समय COVID पछि बीमा समूहमा आएको बुल रनले सक्रिय ट्रेडिङका लागि उत्कृष्ट अवसर बनाइदियो। त्यही चरणमा मैले करिब रु. १,९००+ ‘पिक’ नजिकै बिक्री गरेर राम्रो नाफा सुरक्षित गर्न सकेँ। तर बजार घट्न थालेपछि मैले धेरै सुरुवाती लगानीकर्ताले गर्ने महँगो गल्ती दोहोराएँ मूल्य झर्दै जाँदा निरन्तर ‘एभरेज’ गर्दै रु. १,७२०, रु. १,४५० र रु. १,१५० मा फेरि–फेरि किन्दै गएँ। गिरावट रोकिएन र अन्तत केही महिनासम्म बजार हेर्नै छोडेँ। पछि फेरि बचत जुटाएर बजारमा फर्किँदा उही शेयर करिब रु. ५७०, यसकै न्यूनतम रकम मध्ये एकमा किनेँ, र केही महिना अघि अन्तत रु. १,६३५ मा बेचेर त्यो अध्याय टुंग्याएँ। यस सम्पूर्ण यात्राले मलाई एउटा गहिरो पाठ दियो; सुरुवाती चरणमा ‘ब्याज नलाग्ने पैसा’ अर्थात् तत्काल आवश्यक नपर्ने रकम मात्र लगानी गर्नुपर्छ, किनकि समर्पण र धैर्य नभए डर, दबाब र आवेगले गलत समयमा प्यानिक सेल गराउँछ।
शेयर बजारको सुरुवाती चरणमा कसरी र कहाँ लगानी गर्ने भन्ने प्रश्नको उत्तर छिट्टै ‘दोब्बर पैसा’ बनाउने लक्ष्य होइन; बरु बजार कसरी चल्छ भन्ने बुझ्ने, आफ्नो पूँजी सुरक्षित राख्ने, र अनुशासित लगानी गर्ने बानी बसाल्ने प्रक्रियाबाट सुरु हुन्छ। सुरुवाती लगानीकर्ताले पहिलो प्राथमिकता ज्ञान, जोखिम व्यवस्थापन, र व्यवहारिक अनुशासनमा दिनुपर्छ किनकि स्थायी सफलता न त भाग्यले दिन्छ, न त बजारको कृत्रिम उत्साहले; यो त बिस्तारै सिक्दै, गल्तीहरूबाट पाठ निकाल्दै, र दीर्घकालीन सोच बनाउँदै जाने यात्राबाट जन्मिन्छ। तल प्रस्तुत गरिएको रोडम्याप त्यही यात्राको प्रारम्भिक दिशानिर्देश हो।
१) लगानी गर्नु अघि: आफ्नो आधार तयार पार्नुहोस्
आपतकालीन कोष (emergency fund) राख्नुहोस्, उच्च ब्याज लाग्ने ऋण (high interest debt) सकेसम्म छिटो तिर्नुहोस्, र कम्तीमा ३–५ वर्ष राख्न सकिने पैसा मात्र लगानी गर्नुहोस्। आधारभूत कुरा (नाफा/नोक्सानी, मार्केट क्याप, EPS, डिभिडेन्ड, P/E, राइट/बोनस, स्टप लस) बुझ्नुहोस् र सुरुबाटै आफ्नो अप्रोच छान्नुहोस्, धेरैजसो सुरुवाती लगानीकर्ताले छोटो अवधिको ट्रेडिङभन्दा अनुशासित दीर्घकालीन लगानीबाट सुरु गर्नु उपयुक्त हुन्छ।
२) सुरु गर्न सरल चरणबद्ध योजना
पहिले नियमित रूपमा लगानी गर्न सक्ने सानो मासिक रकम निश्चित गर्नुहोस्। त्यसपछि केही गुणस्तरीय कम्पनी वा फन्डहरू अध्ययन गरेर २–३ वटा विकल्पबाट मात्र सुरु गर्नुहोस्। साना भागमा लगानी गर्दै जानुहोस्, आत्मविश्वास बढ्दै गएपछि बिस्तारै थप्नुहोस्, र एकैचोटि सबै पैसा नहालेर हप्ता वा महिनाभरि चरणबद्ध रूपमा किनेर एभरेजिङ गर्नुहोस्। अन्त्यमा, दैनिक होइन त्रैमासिक (quarterly) समीक्षा गर्नुहोस्: कम्पनीको प्रदर्शन, वित्तीय नतिजा र तपाईंले किन्नका मूल कारणहरू अझै वैध छन् कि छैनन् भन्ने जाँच्नुहोस्।
३) सुरुवातीका लागि कहाँ लगानी गर्ने
सुरुवाती चरणमा जोखिम फैलिने (diversified) र तुलनात्मक रूपमा सुरक्षित विकल्पबाट सुरु गर्नु राम्रो हुन्छ, जस्तै इन्डेक्स फन्ड, म्युचुअल फन्ड, वा (उपलब्ध भएमा) SIP, यसले तपाईंको जोखिम धेरै कम्पनीहरूमा बाँडिन्छ। यदि व्यक्तिगत शेयर किन्ने हो भने, लगातार नाफा गर्ने, ठूलो/स्थिर व्यवसाय र उचित ऋण भएको कम्पनीलाई प्राथमिकता दिनुहोस्। सुरुवाती चरणमा पेनी स्टक, ऋण/मार्जिन पैसा, र ‘टिप’ भरको किनबेचबाट टाढा रहनुहोस्।
४) सुरुवातीका लागि जोखिम व्यवस्थापनका नियमहरू
सुरुवातीका लागि जोखिम व्यवस्थापनको मतलब पूँजी जोगाउनु हो। ऋण वा मार्जिन पैसा प्रयोग नगर्नुहोस्, स्टक/सेक्टरहरूमा विविधीकरण गर्नुहोस्, र प्रत्येक पोजिसन यति सानो राख्नुहोस् कि एउटा ठूलो गिरावटले तपाईंको सम्पूर्ण पोर्टफोलियो नै बिगार्न नपाओस्। आफ्नो ‘एक्जिट रुल’ पहिले नै तय गर्नुहोस् (लगानीका लागि फन्डामेन्टल कारण बदलिँदा बाहिरिने, ट्रेडिङका लागि स्टप लस) र अपेक्षा यथार्थवादी राख्नुहोस् दैनिक ‘इनकम’ होइन, क्रमिक/स्थिर वृद्धिलाई लक्ष्य बनाउनुहोस्।
सुरुवातीले बच्नुपर्ने सामान्य गल्तीहरू
सुरुवाती लगानीकर्ताले प्रायः हल्ला ‘इनसाइड न्युज’ वा सामाजिक सञ्जालको बजारबारे कृत्रिम उत्साहमा भर पर्नु, धेरै ट्रेडिङ गरेर अनावश्यक लागत बढाउनु, स्पष्ट योजना वा रणनीति बिना बजारमा प्रवेश गर्नु, सामान्य Correction मा डराएर Panic Sell गर्नु, सबै पैसा एउटै ‘मन पर्ने’ शेयरमा थुपारेर विविधीकरण नगर्नु, कम्पनीको वास्तविक मूल्य नहेरी मूल्य बढेको देखेर मात्र पछ्याउनु, छोटो समयमा धनी बन्ने सोचले जोखिमपूर्ण निर्णय गर्नु, र धैर्य नदेखाई बारम्बार पोर्टफोलियो परिवर्तन गर्नु जस्ता गल्तीहरू गर्छन् जसले लगानीलाई स्थिरता होइन, अनावश्यक जोखिमतर्फ धकेल्छ; आखिर, “लगानी भनेको हल्लाको भीड पछ्याउने खेल होइन, तथ्य र धैर्यको बाटो पछ्याउने कला हो।”
सुरुवाती चरणको लगानी बाँडफाँडको सरल उदाहरण
सुरुवाती चरणको लगानी बाँडफाँडमा सन्तुलन, सरलता र अनुशासन अत्यन्त महत्वपूर्ण हुन्छ। सुरुमा आफ्नो कुल लगानीको ठूलो हिस्सा करिब ६०–८०% फन्डामेन्टली बलिया, स्थिर र विविधीकृत कम्पनीहरूमा राखेर सुरक्षित आधार बनाउनु बुद्धिमानी मानिन्छ। यसले बजारको उतारचढावमा पोर्टफोलियोलाई स्थिरता दिन्छ। त्यसपछि १०–३०% हिस्सा आफूले राम्रोसँग अध्ययन गरेका, सम्भावना देखिएका केही कम्पनीहरूमा राखेर सिकाइ र सम्भावित उच्च प्रतिफल दुवैको अवसर लिन सकिन्छ। बाँकी १०–२०% रकम भने बजारमा आउने गिरावटको फाइदा उठाउँदै ‘एभरेजिङ’ गर्न वा भविष्यमा देखिन सक्ने नयाँ अवसरहरूका लागि नगद वा तरल कोष (Liquid Fund) को रूपमा सुरक्षित राख्नु उपयुक्त हुन्छ। यस्तो संरचित दृष्टिकोणले सुरुवाती लगानीकर्तालाई जोखिम नियन्त्रण गर्दै बिस्तारै आत्मविश्वास, अनुभव र स्थिर प्रतिफल निर्माण गर्न मद्दत गर्छ।
निष्कर्ष: अनुशासन, धैर्य र यथार्थवादी सोच
अन्तत शेयर बजार कुनै निश्चित गन्तव्यतर्फ एकैचोटि दौडेर पुगिने यात्रा होइन। यो सिकाइ, अनुशासन र आत्मनियन्त्रणको दीर्घ प्रक्रिया हो। आफू कहाँ जाँदै छु भन्ने स्पष्टता बिना केवल छिटो हिँड्नुले फाइदा हुँदैन; बरु गलत निर्णयहरूको सम्भावना बढ्न सक्छ। सुरुवाती चरणमा अन्तिम लक्ष्य पूर्ण रूपमा स्पष्ट नहुनु स्वाभाविक हो र यसलाई कमजोरी होइन, सिकाइको सुरुवात मान्नुपर्छ। मुख्य कुरा भनेको बलियो आधार बनाउनु हो। बजारको उतार–चढावमा शान्त रहनु, रुचि र जोशलाई तर्कसंगत सोचसँग जोड्नु र हतार वा आवेगमा होइन, सानो तर मापन गरिएको जोखिम लिन सक्नु हो। धैर्य, निरन्तरता र परिणाम भन्दा प्रक्रियामा ध्यान राख्न सके समयसँगै आफ्नो बाटो आफैँ स्पष्ट हुँदै जान्छ।
उक्त सन्दर्भलाई थप स्पष्ट पार्ने Warren Buffett को प्रसिद्ध भनाइ छ, “Be fearful when others are greedy, and be greedy when others are fearful” अर्थात् बजार अत्यधिक लोभी हुँदा जोखिम बढ्छ, र अत्यधिक डर हुँदा अवसर देखिन सक्छ। यथार्थवादी लगानीकर्ताले बजारलाई ‘लोभ र डर’ बीचको दैनिक तानातानको रूपमा बुझ्छ, आशावादले मूल्यलाई उचित मूल्यभन्दा माथि पुर्याउन सक्छ भने निराशावादले राम्रो कम्पनीहरूलाई पनि उचित मूल्यभन्दा तल धकेल्न सक्छ। त्यसैले लगानीको मूल मन्त्र टिप्स पछ्याउनु होइन; कम्पनी/क्षेत्र बुझ्नु, मूल्यांकन हेर्नु, जोखिम व्यवस्थापन गर्नु, र योजना अनुसार टिकिरहनु हो। अन्ततः शेयर बजारले हतार गर्नेहरूलाई होइन; निरन्तरता, संयम, विवेक र स्थिर रहनेहरूलाई इनाम दिन्छ।
(लेखक लगानी क्षेत्रसँग सम्बन्धित संघ–संस्थामा संलग्न रही पूँजी बजारसम्बन्धी अध्ययन र विश्लेषणमा क्रियाशील छन्।)
Facebook Comment