कावासोती । देश भदौ २३ र २४ को राजनीतिक परिवर्तनपछि नयाँ मोडमा प्रवेश गरिरहेको सन्दर्भमा नवलपुर निर्वाचन क्षेत्र नम्बर–१ पनि विकास र परिवर्तनको नयाँ अपेक्षासहित अघि बढिरहेको छ।
यही परिवेशमा नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण घिमिरेले नवलपुर–१को समग्र रूपान्तरणका लागि नवलपुर जिल्लाको समग्र विकासलाई केन्द्रमा राख्दै शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पूर्वाधार, ऊर्जा, पर्यटन, वातावरण र सामाजिक न्यायका क्षेत्रमा दीर्घकालीन तथा समावेशी योजनासहित एकीकृत विकासको खाका सार्वजनिक गरेका छन।
जिल्लाको भौगोलिक विविधता, सामाजिक संरचना र आर्थिक सम्भावनालाई ध्यानमा राखी तयार गरिएको यो खाकाले नवलपुरलाई आत्मनिर्भर, समृद्ध र सुशासित जिल्लाका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ।
सामाजिक सुरक्षाका सवालमा महिला, बालबालिका, आदिवासी/जनजाति र दलित समुदायमाथि हुने सबै प्रकारका विभेद, हिंसा र दुव्र्यवहार अन्त्य गर्न अभियान सञ्चालन गरिने प्रतिबद्धता जनाइएको छ। प्रत्येक पालिकामा ज्येष्ठ नागरिकका लागि मनोरञ्जन तथा मानसिक सशक्तीकरणका उद्देश्यले ‘ह्याप्पिनेस सेन्टर’ स्थापना गर्न नीतिगत पहल गरिनेछ।
साथै, नीति निर्माणका तहमा सिमान्तकृत, पछाडि पारिएका वर्ग र समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने तथा पालिका तहमा महिला–मैत्री, बालमैत्री, अपाङ्गमैत्री र ज्येष्ठ नागरिकमैत्री स्थानीय शासन प्रणाली कार्यान्वयन गरिने जनाइएको छ।
शिक्षा क्षेत्रमा गुणस्तरीय, जीवनोपयोगी र रोजगारमुखी शिक्षालाई प्राथमिकता दिइएको छ। विद्यालय, क्याम्पस, संस्कृत गुरुकुल तथा अन्य शैक्षिक संस्थाको भौतिक पूर्वाधार सुदृढ गर्दै प्राविधिक धारका विषय सञ्चालन गर्न प्रोत्साहन गरिनेछ। न्यूनतम मापदण्ड पूरा गरेका सामुदायिक क्याम्पसलाई आङ्गिक क्याम्पसमा रूपान्तरण गर्ने र नवलपुरमै विश्वविद्यालय स्थापना तथा सञ्चालनमा पहल गरिने योजना अघि सारिएको छ।
स्वास्थ्य क्षेत्रमा “स्वास्थ्य बीमा, सरकारको जिम्मा” भन्ने अवधारणाअनुसार सबै नागरिकको सहभागिता र पहुँच सुनिश्चित गरिनेछ। सामुदायिक प्राकृतिक चिकित्सालयलाई प्राकृतिक चिकित्सा शिक्षण अस्पतालका रूपमा विकास गरिने, प्रादेशिक अस्पताल, आयुर्वेद अस्पताल र पालिकास्तरीय अस्पतालको स्तरोन्नति गरिनेछ। साथै, ट्रमा सेन्टर निर्माण कार्य समयमै सम्पन्न गरी सञ्चालनमा ल्याउने प्रतिबद्धता पनि समेटिएको छ।
कृषि तथा सिँचाइलाई आत्मनिर्भर अर्थतन्त्रको आधारका रूपमा लिँदै आधुनिकिकरण, भण्डारण, प्रशोधन, व्यवसायीकरण र बजारीकरणलाई जोड दिइएको छ। कृषिजन्य तथा पशुपन्छीजन्य उत्पादन—दूध, अण्डा, मासु, माछा, फलफूल, तरकारी, दलहन, तेलहन, धान, मकै लगायतमा आत्मनिर्भरता हासिल गर्दै निर्यात प्रवर्द्धन गरिने लक्ष्य राखिएको छ। पहाडी र समथर क्षेत्रमा सिँचाइ सुविधा विस्तार, जलाशय निर्माण तथा साना सिँचाइ प्रविधि प्रयोग गरिनेछ। कृषि अनुसन्धान केन्द्र र नवलपुरमा पशुपन्छी अस्पताल स्थापना गर्ने योजना पनि समावेश छ।
उद्योग, वाणिज्य र उद्यमशीलतामा उत्पादनमूलक क्षेत्रमा लगानी बढाई आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने उद्योग स्थापना गर्न निजी क्षेत्रसँग सहकार्य गरिनेछ। नवलपुरमा विशेष आर्थिक क्षेत्र स्थापना, जडीबुटी, घरेलु तथा साना उद्योग, हस्तकला र कुटिर उद्योगलाई अनुदान र छुटमार्फत संरक्षण गरिने योजना छ। पहाडी क्षेत्रमा अदुवा, सुन्तला र जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने पहल गरिनेछ।
युवा, खेलकुद र रोजगारीका क्षेत्रमा युवा उद्यम तथा रोजगार कोषलाई प्रभावकारी बनाइनेछ। फर्केका युवा तथा स्वदेशमै रहेका उद्यमीलाई अनुदान र संरक्षण दिइनेछ। ‘एक वडा–एक खेलमैदान, एक पालिका–एक रंगशाला’ अवधारणालाई अघि बढाउँदै अन्तर्राष्ट्रिय स्तरका खेल पूर्वाधार निर्माणमा जोड दिइनेछ। बिपि अन्तर्राष्ट्रिय खेलग्रामको काम लाई तत्काल सुरु गरि समयमै सम्पन्न गरिने छ । साथै, लागुऔषध दुर्व्यसन, यौन हिंसा र मानसिक समस्याबाट युवालाई जोगाउन परामर्श केन्द्र स्थापना गरिनेछ।
सडक तथा यातायात पूर्वाधारलाई पहुँच र विकासको आधार मान्दै उत्तर–दक्षिण सडक सञ्जालको स्तरोन्नति, नारायणी करिडोरलाई राष्ट्रिय गौरवको आयोजनामा समेट्ने तथा पैदल, साइकल र अपाङ्गमैत्री सडक निर्माण गर्ने नीति अघि सारिएको छ।
ऊर्जा तथा विद्युत् क्षेत्रमा पहाडी क्षेत्रका सबै वडामा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् पहुँच विस्तार गरिनेछ। सार्वजनिक–निजी साझेदारीमा कालीगण्डकी नदीबाट कम्तीमा ५० मेगावाट विद्युत् उत्पादन गर्ने आयोजना प्रस्ताव गरिएको छ।
पर्यटन, धर्म र संस्कृतिको क्षेत्रमा ऐतिहासिक, धार्मिक, जैविक र पुरातात्विक स्थलहरूको एकीकृत विकास गरिनेछ। धार्मिक, साहसिक, पर्यापर्यटन, जल पर्यटन र ग्रामीण पर्यटन प्रवर्द्धन गर्दै नारायणी नदी र पहाडी क्षेत्रमा पदमार्ग विकास गरिनेछ। धार्मिक सहिष्णुता, सांस्कृतिक विविधता र पहिचान संरक्षणमा विशेष जोड दिइएको छ।
वन, वातावरण र विपद् व्यवस्थापनतर्फ वैज्ञानिक वन व्यवस्थापन, जैविक विविधता संरक्षण, जलवायु परिवर्तन अनुकूलन तथा ‘एक वन क्षेत्र–एक हरित मनोरञ्जन पार्क’ अवधारणालाई अघि बढाइनेछ। विपद् जोखिमयुक्त बस्तीको पहिचान गरी स्थानान्तरण, क्षति न्यूनीकरण र राहत व्यवस्थापनलाई प्रभावकारी बनाइने योजना छ।
सुशासन र सामाजिक न्यायका लागि भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाइने, पारदर्शी, उत्तरदायी र जनमुखी सेवा प्रवाह सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गरिएको छ।
समग्रमा, नवलपुरको यो विकास खाकाले जिल्लालाई समावेशी, आत्मनिर्भर र समृद्ध बनाउने स्पष्ट दृष्टिकोण प्रस्तुत गरेको छ, जसले स्थानीय आवश्यकता र राष्ट्रिय लक्ष्यलाई एकैसाथ सम्बोधन गर्ने अपेक्षा गरिएको छ।
उम्मेदवार घिमिरे हाल उच्च शिक्षातर्फ अग्रसर रहँदै पिएचडी अध्ययनरत छन् भने उनी पेशागत रूपमा कानुन व्यवसायी समेत हुन्। कानुनी ज्ञान, अनुसन्धानमुखी शैक्षिक पृष्ठभूमि र सार्वजनिक नीतिप्रतिको गहिरो बुझाइका कारण उनी संसदमा नीति निर्माण, कानुन संशोधन तथा विकाससम्बन्धी विधेयकहरूमा प्रभावकारी भूमिका खेल्न सक्षम नेतृत्वका रूपमा चिनिँदै आएका छन्। विधिको शासन, संवैधानिक मूल्य–मान्यता र सामाजिक न्यायलाई संस्थागत गर्न संसदभित्रबाटै ठोस पहल गर्ने उनको प्रतिबद्धता रहेको छ।
Facebook Comment