नवलपुर-२ को पुर्वाधार विकासमा ओमको दृष्टि

NAWALPUR TIMES

नवलपुर-२ को पुर्वाधार विकासमा ओमको दृष्टि

कावासोती । नवलपुर क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार, नेपाली कांग्रेसका नेता ओमबहादुर घर्ती ले नवलपुर–२ को भौतिक पूर्वाधार विकासका लागि आफ्ना योजना सार्वजनिक गरेका छन् ।

घर्तीले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा आगामी निर्वाचनपछि बन्ने नेपाली कांग्रेस को सरकारले नवलपुर–२ को भौतिक पूर्वाधार क्षेत्रमा ऐतिहासिक परिवर्तन ल्याउने ‘गेमचेन्जर’ योजनाहरू समेटिएको उल्लेख छ ।

प्रतिबद्धता पत्रअनुसार नवलपुर–२ मात्र नभई गण्डकी प्रदेशलाई भारत र चीनसँग जोड्ने रणनीतिक महत्वको त्रिवेणी–कोरला सडक अन्तर्गत नवलपुर क्षेत्रमा पर्ने त्रिवेणी–दुम्किबास सडक निर्माणलाई प्राथमिकताका साथ अघि बढाइनेछ । त्यसैगरी सडक पूर्वाधारतर्फ दुम्किबास–मित्याल–रामपुर सडक, चोरमारा–झ्यालबास–डेढगाउँ–भिमाद सडक निर्माण तथा विस्तार, अरुणखोला –मित्याल–रामपुर सडकको स्तरोन्नति, साथै नवलपुर–२ भित्र पर्ने हुलाकी सडकको कामलाई तीव्रता दिइने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

नारायणी नदी कटानको दीर्घकालीन समाधानका लागि वैज्ञानिक विधिबाट तटबन्ध निर्माण गरिने र तटबन्धसँगै करिडोर विकास गरी पर्यटकीय मार्ग निर्माण गरिने योजना पनि घर्तीले अघि सारेका छन् ।

नवलपुरको हुप्सेकोटमा रहेको धौवादी फलाम खानीमा तत्काल उत्खनन् र प्रशोधन प्रक्रिया अघि बढाई राजस्व वृद्धि र रोजगारी सृजना गरिने योजना समेत प्रतिबद्धता पत्रमार्फत सार्वजनिक गरिएको छ ।

नेपालमै पहिलो पटक सुरु गरिएको एकीकृत नमुना सदरमुकाम निर्माण कार्यलाई सम्पन्न गरी यथाशीघ्र सञ्चालनमा ल्याइने, यसबाट जिल्लाको प्रशासनिक सेवा सरल र प्रभावकारी बनाइने, साथै त्रिवेणी भन्सार कार्यालयलाई व्यवस्थित रूपमा सञ्चालन गरिने घर्तीको प्रतिबद्धतामा उल्लेख छ ।

अरुणखोला–राईकोट–हुप्सेकोट, सिस्रहनी चोक–सिस्रहनी गाउँ, गुरुङघाट–सटाकुन जोड्ने पक्की पुल, विनयी त्रिवेणी वडा नं. ७ अन्तर्गत छटिया खोला र दुई नहरबीच पक्की पुल निर्माण गरिनेछ । साथै चौरङ्गी (फूलबारी) रातोपहरा–मैनाघाट–गुहेरी–सटकोन–नाम्जाकोट–पोखरी हुँदै जाने सडक निर्माण तथा स्तरोन्नति गरिनेछ । बजार क्षेत्रमा सुविधा सम्पन्न भौतिक पूर्वाधारसहितको पार्किङ स्थल निर्माण गरी सञ्चालनमा ल्याइने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

त्यसैगरी बाझोबारी, राईका, रुचाङ, नरम, बोबक, बोझापोखरी सडकलाई पहाडी क्षेत्रको विशेष मार्गका रूपमा विकास गरिने, सिमरा–भडरा जोड्ने झलुङ्गे पुल निर्माण, काली नारायणी मार्गको बाँकी खण्ड तत्काल सम्पन्न गरिने उल्लेख गरिएको छ ।

दुम्किबास–डाँडाजोर–संसारकोट हुँदै बर्दघाट निस्कने सडकखण्डलाई दाउन्ने सडकखण्डको वैकल्पिक मार्गका रूपमा व्यवस्थित र स्तरोन्नति गरिने योजना पनि समावेश छ ।

औद्योगिक ग्राम घोषणा भइसकेको डेढगाउँ तथा मध्यविन्दु–१२ भूपू गाउँलाई औद्योगिक ग्रामका रूपमा विकास गरिने, साथै यस क्षेत्रको गम्भीर समस्याका रूपमा रहेको दाहसंस्कार घाटलाई स्थानीय सरकारको समन्वयमा उपयुक्त स्थान पहिचान गरी निर्माण गरिने प्रतिबद्धता गरिएको छ ।

यस क्षेत्रभित्र पर्ने आलोक चक्रपथलगायत सम्पूर्ण स्थानीय भित्री सडकखण्डहरूको निर्माण तथा स्तरोन्नति गरिने प्रतिबद्धता पनि घर्तीको घोषणापत्रमा समावेश गरिएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology