नवलपुरमा ११ वटा निर्वाचन स्थललाई अति संवेदनशील

NAWALPUR TIMES

नवलपुरमा ११ वटा निर्वाचन स्थललाई अति संवेदनशील

कावसोती । नवलपुर  जिल्लामा ११ वटा निर्वाचन स्थललाई अति संवेदनशीलका रूपमा वर्गीकरण गरिएको छ । एक सय १४ वटा निर्वाचन स्थल तथा तीन सय ११ मतदान केन्द्र रहेको नवलपुरमा ११ वटा निर्वाचन स्थल अति संवेदनशीलका रूपमा तय गरिएको हो । त्यस्तै ५० वटा संवेदनशील र ५३ वटा निर्वाचन स्थल सामान्य रहेको वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेयले जानकारी दिनुभयो ।

भारतीय सीमाक्षेत्र, विगतमा भएका झडप, पर्खाल नभएका स्थललगायतका कारणले ११ वटा निर्वाचन स्थललाई अति संवेदनशील क्षेत्रमा राखी निगरानी गरिएको उहाँको भनाइ छ । त्यसबाहेक निर्वाचन बहिष्कार गरेका केही समूहले भोट नहाल्न उर्दी जारी गर्दै पर्चा छरेको पाइएको प्रजिअ पाण्डेयले बताउनुभयो ।

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत), विश्वभक्त दुलाल (आहुति) नेतृत्वको नेपाल कम्युनिष्ट वैज्ञानिक समाजवादी पार्टी, समरजंग नेतृत्वको समाजवादी कम्युनिष्ट पार्टी र महेन्द्र मल्ल नेतृत्वको जनपक्षीय कम्युनिष्ट पार्टीले चुनाव बहिष्कारको घोषणा गरेका छन् । उनीहरूका गतिविधिलाई सूक्ष्म ढङ्गले निगरानी गरी सतर्कता बढाइएको पाण्डेयले बताउनुभयो ।

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी माघ २१ गतेदेखि सशस्त्र प्रहरीले प्रगतिनगर र चोरमारामा सुरक्षा बेस क्याम्प खडा गरेको छ भने नेपाली सेनाले पनि सुरक्षा बेस क्याम्प स्थापना गरी नियमित गस्ती सुरु गरिसकेको छ ।

प्रतिनिधिसभामा दुई वटा निर्वाचन क्षेत्र रहेको नवलपुरमा क्षेत्र नं. १ का लागि ५८ वटा र क्षेत्र नं. २ का लागि ५६ वटा गरी एक सय १४ वटा निर्वाचन स्थल तय गरिएको जिल्ला निर्वाचन कार्यालय नवलपुरका कार्यालय प्रमुख लालप्रसाद भुसालले बताउनुभयो ।

प्रजिअ पाण्डेयका अनुसार नवलपुरमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुरक्षा निकायले निर्वाचन स्थलको रेकी गर्न सुरु गरिसकेको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र निर्वाचन प्रहरी गरी चारै तहको सुरक्षा घेरामा निर्वाचन स्थलको सुरक्षा गरिनेछ ।

सुरक्षाकर्मीले अहिलेदेखि नै निर्वाचनलाई लक्षित गरी मोबाइल फोर्स, पैदल गस्ती, सादा पोशाकमा गस्ती लगायतका गतिविधि बढाइसकेको प्रजिअ पाण्डेयको भनाइ छ । निर्वाचनको मितिभन्दा चार दिनअघि नै निर्वाचन स्थलमा कर्मचारी खटाइनेछ । नवलपुर निर्वाचन क्षेत्र नं. १ मा एक लाख ३७ हजार ८१ मतदाता र क्षेत्र नं. २ मा एक लाख ३१ हजार चार सय ४५ जना मतदाता रहेका छन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology