विद्यार्थी राजनीतिबाट उदाएका घर्ती अब संसदको दौडमा

NAWALPUR TIMES

विद्यार्थी राजनीतिबाट उदाएका घर्ती अब संसदको दौडमा

कावासोती । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेसले नवलपुर क्षेत्र नं २ बाट युवा नेता ओम बहादुर घर्तीलाई उम्मेदवार बनाएको छ ।

गत २०७९ को आम निर्वाचनमा नेपाली कांग्रेसकै विष्णु कुमार कार्कीले जितेको यो क्षेत्रमा यस पटक कांग्रेसले नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघका केन्द्रिय सभापति घर्तीलाई उम्मेदवार बनाएको हो ।

घर्ती सँगै यो क्षेत्रबाट नेकपा एमालेका तिल बहादुर महत, नेकपाका गणेशमान महतो, रास्वपाका मनिस खनाल सहित १८ जनले उम्मेदवारी दिएका छन ।

को हुन ओम बहादुर घर्ती ?

नेपाल लोकतन्त्रवादीआदिवासी जनजाती महासंघका केन्द्रिय सभापति रहेका घर्ती हुप्सेकोट निवासी हुन ।

वि.स २०४६ सालमा हुप्सेकोटमा रहेको सरस्वती माध्यमिक विद्यालयको नेविसंघ ईकाई अध्यक्षबाट घर्तीले राजनीति सुरु गरेका थिए । २०५३ सालमा जिल्लाको पहिलो क्याम्पस कुमारवर्ती बहुमुखी क्याम्पसको ईकाई सभापति, २०५५ सालमा नेविसंघ जिल्ला सदस्य भएका घर्ती २०६४मा नेपाल राष्ट्रिय मगरसंघको महासचिव बनेर केन्द्रिय राजनीति सुरु गरेका थिए ।

२०६९ सालमा नेपाल राष्ट्रिय मगर संघको सभापति बनेका घर्तीलाई शेरबहादुर देउवाले २०७९ सालमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघको तदर्थ समितिको सभापति बनाएका थिए ।

कांग्रेसका भातृ संस्थाहरु तदर्थबादमा चलिरहदा घर्तीले २०८१ मा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघको महाअधिवेशन सम्पन्न गरेर सभापतिमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए ।

हुप्सेकोटमा अङ्ग्रेजी माध्यमको पहिलो विद्यालय अर्पण ईङ्ग्लिस बोर्डिङ स्कुल सन्चालनमा ल्याएका घर्ती विद्यार्थी राजनीतिबाट नै खारिएर आएका नेता हुन । जिल्लाको पहिलो क्याम्पस कुमारवर्ती क्याम्पसमा पहिलो स्ववियु निर्वाचन गराउन महत्त्वपूर्ण भुमिका खेलेका घर्ती स्नातक उतिर्ण हुन ।

यस अघि शेरबहादुर देउवा निकट मानिएका घर्ती नेपाली कांग्रेसको गत पुस २७-२८ मा काठमाडौ सम्पन्न विशेष महाधिवेशनमा सहभागी भएर पार्टी रुपान्तरणको पक्षमा आवाज उठाएका नेताका रुपमा चिनिन्छ्न ।

कांग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको नजिक रहेर काम गर्दै आएका उनलाई कांग्रेसले यस पटक उम्मेदवार बनाएको हो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology