विद्यालय खोल्न नवलपुरका पालिकाहरुको दबाब, माग पुरा नभएसम्म नखोल्ने शिक्षकहरुको अडान
NAWALPUR TIMES प्रकाशित : २०८२ वैशाख १४ गते ६:५८
school
कावासोती । नवलपुरका स्थानीय पालिकाहरुले भोलि आइतबारदेखि विद्यालय सञ्चालन गर्न दबाब बढाएका छन् । तीन वटा पालिकाले विज्ञप्ती निकालेर आइतबारदेखि विद्यालय सञ्चालन गर्न आग्रह गरेका छन् ।
लामो समयदेखि शिक्षकहरु विभिन्न माग राखेर काठमाडौंमा आन्दोलन गरिरहँदा विद्यार्थीको पढ्न पाउने अधिकार हनन् भएको भन्दै कावासोती नगरपालिका, देवचुली नगरपालिका र हुप्सेकोट गाउँपालिकाले आइतबारदेखि विद्यालय सञ्चालन गर्न भनेका हुन् ।
कावासोतीका नगरप्रमुख विष्णुप्रसाद भुसालले सूचना जारी गरेर राष्ट्रव्यापी रुपमा भइरहेको शिक्षक–कर्मचारी आन्दोलनका कारण विद्यार्थी भर्ना, अभिलेख व्यवस्थापन र पठनपाठन कार्यमा विलम्ब भएको भन्दै यसले सिंगो शैक्षिक प्रणालीमा पार्न सक्ने नकारात्मक असरलाई मध्यनजर गरी आईतबार विद्यालय सञ्चालन गर्न विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, विद्यालय प्रशासन र शिक्षक कर्मचारीलाई आग्रह गरेका छन् ।
हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले पनि यसअघि नै विज्ञप्ती निकालेर भोलिदेखि पठन पाठन सुरु गर्न आग्रह गर्दै विद्यालय व्यवस्थापन समिति र वडा कार्यालयबाट सुरु गरे नगरेको अनुगमन गरिने बताएकी थिइन् ।
त्यसै गरि देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपानेले आन्दोलनका कारण विद्यार्थी भर्ना, अभिलेख व्यवस्थापन र पठनपाठन कार्यमा विलम्ब भएको भन्दै यसले सिंगो शैक्षिक प्रणालीमा पार्न सक्ने नकारात्मक असरलाई मध्यनजर गरी आईतबार विद्यालय सञ्चालन गर्न विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, विद्यालय प्रशासन र शिक्षक कर्मचारीलाई आग्रह गरेका छन् ।
तर शिक्षकहरुले भने आफूहरुका माग पुरा नहुँदासम्म विद्यालय सञ्चालन नगर्ने अडान लिएका छन् ।
हाल जारी आन्दोलन नसकिँदासम्म जिल्लाभरिका सामुदायिक विद्यालयहरू नखोल्न र शिक्षण कार्य नगर्न आग्रह गरेको छ।
महासंघले शनिबार जारी गरेको अपिलमा, आन्दोलनलाई सफल बनाउन शिक्षण कार्य स्थगित राख्नुपर्ने स्पष्ट उल्लेख गरिएको छ। अपिलमा केही स्थानीय सरकारले विद्यालय जबरजस्ती खोल्न दबाब दिइएको सूचना प्राप्त भएको भन्दै गम्भीर आपत्ति जनाइएको छ। महासंघले स्थानीय सरकार तथा विद्यालय प्रशासनलाई त्यस्तो कार्य नगरी आन्दोलनलाई पूर्ण साथ दिन आह्वान गरेको हो ।
महासंघले आन्दोलनका कारण भएको शैक्षिक क्षति पछि समय व्यवस्थापन गरी पूर्ति गर्ने प्रतिबद्धता पनि जनाएको छ। लामो समयदेखिको शिक्षकहरुको आन्दोलनका कारण जिल्लाका सामुदायिक विद्यालयहरुको भर्ना तथा पठन पाठन प्रभावित भएको छ भने नीजि विद्यालयहरुले पठन पाठन सुरु गरिसकेका छन् । जसका कारण कतिपय अभिभावनले सामुदायिक विद्यालय छोडेर आफ्ना छोराछोरीलाई नीजि विद्यालयमा भर्ना गर्न थालेका छन् ।
Facebook Comment