दाउन्ने सडकखण्ड आजदेखि राति बन्द हुने

NAWALPUR TIMES

दाउन्ने सडकखण्ड आजदेखि राति बन्द हुने

कावासोती । नारायणगढ–बुटवल सडक खण्ड अन्तरगतको दाउन्ने क्षेत्रमा सोमबारदेखि रातिको समयमा बन्द गरिने भएको छ । दाउन्नेको पहाड क्षेत्रमा सडक विस्तारको काम छिटो सक्न सवारी आवागमन बन्द गरेर काम गर्न लागिएको हो ।

नारायणगढ–बुटवल सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालले दाउन्ने खण्डमा आज (सोमबार) राति ११ देखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाएर काम गर्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार वैशाख १५ गतेसम्म सो सडक खण्ड रातिको समयमा बन्द हुनेछ । चैत्र २७ गतेदेखि दिउँसोमा सडक बन्द गरेपनि सोचेअनुसार काम गर्न नसकेपछि रातिमा सडक आवागमन बन्द गर्न लागिएको खनालले बताए । आयोजनाले एक हप्ताअघि चैत्र २७ गतेदेखि ३१ गतेसम्म दिउँसोमा बिहान ११ देखि अपराह्न ३ बजेसम्म सवारी आवागमन बन्द गर्दै आएको थियो ।

दाउन्नेको पहाडी क्षेत्रमा कटिङका काम बाँकी छ । साँघुरो क्षेत्रमा सवारी नरोकि काम गर्न सकिँदैन । भित्ता कटिङको काम १५ दिनमा सक्नेगरी रातीमा सडक बन्द गर्दैै छौँ,’– खनालले भने । दाउन्ने क्षेत्रको पहाड १३ किलोमिटर रहेको छ । यहाँ तीन लेनको सडक निर्माण हुँदैछ । जसका कारण काम गर्न कठिन भएको इन्जिनियर खनालले बताए । ‘दाउन्ने क्षेत्रमा मात्रै ७० वटा कल्बट छ । चार लेनको सडक भए दुईलेनमा काम गर्दै अर्को दुई लेन खन्दै जान हुन्थ्यो,’ उनले भने ‘तीन लेनमा त्यसरी खन्न पनि नमिल्ने ।’

यो १५ दिनको अवधिमा पश्चिम नवलपरासीको बर्दघाट देखी पूर्वी नवलपरासीको दुम्किबास सम्मको पहाडी खण्डको सडक मर्मत सम्भार गरिने छ । त्यसपछि पहाड काट्ने काम सुरु हुनेछ । आइतबार परेको पानीका कारण दाउन्ने क्षेत्र हिलाम्मे छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology