कावासोती । जिल्लामा सबै भन्दा धेरै विद्यार्थी भएको मध्यविन्दु क्याम्पसको निर्वाचन हुनेमा अन्यौल भएको छ ।
नेविसंघ, अखिल क्रान्तिकारी र नेकपा एस निकट अनेरास्ववियुले निर्वाचन समितिमा तालाबन्दी गरे पछि यहाँ हुने भनिएको निर्वाचन हुने नहुने विषयमा अन्यौल भएको हो ।
तालाबन्दी गरेका विद्यार्थी संगठनहरु क्याम्पसले बोलाएको वार्तामा न आएकाले निर्वाचननै अन्यौलमा परेको मध्यविन्दुका क्याम्पस प्रमुख गणेशमान गिरीले बताए ।
“विद्यार्थी संगठनले ताला लगाएका कारण संगठन दर्ता गर्न सकिएन, संगठन दर्ता नहुदा निर्वाचननै अन्यौल भयो”, गिरीले भने । विद्यार्थी संगठनहरु जिम्मेवार नहुदा निर्वाचन हुने कुरा अन्यौल भएको गिरीको आरोप थियो । “मैले संगठन प्रमुखहरुलाई फोन गरेर छलफलका लागि बोलाएको हो, उहाँहरु आउनु भएन, उहाँहरु नै निर्वाचन प्रती संवेदनशील हुनुहुन्न” गिरीले भने ।
गिरीले विद्यार्थी संगठनलाई चुनाव नहाचाएको बताईरहदा विद्यार्थी संगठनहरु क्याम्पस प्रशासनलेनै निर्वाचन नचाहेको आरोप लगाएका छन ।
अघिल्लो पटकको निर्वाचनमा समेत एउटा मात्रै विद्यार्थी संगठनलाई मोबाईल नम्बर उपलब्ध गराएको र अन्य विद्यार्थी संगठनले विरोध गरे पछि मात्रै उपलब्ध गराएको यसपटक पनि क्याम्पस प्रशासनको नियत त्यसतै देखिएको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष आयुष ढकालले बताए । “क्याम्पसको विगत देखिको रवैया हेर्दा प्रशासननै निर्वाचन चाहादैन,” ढकालले भने । तालाबन्दी पछि क्याम्पसले आधिकारिक रुपमा वार्तामा नबोलाएकाले आफुहरु क्याम्पस प्रमुखले बोलाएको छलफलमा नगएको उनले बताए ।
नेपाल विद्यार्थी संघ नवलपुरका अध्यक्ष हरि सुवेदी पनि क्याम्पस प्रशासनलेनै निर्वाचन नचाहेको आरोप लगाए । “क्याम्पसबाट छलफल गरौं भनेर फोन आयो तर हाम्रा मागका विषयमा छलफल गर्न आधिकारिक वार्ताका लागि क्याम्पस प्रशासन तयार नभएकाले फोनका भरमा छलफल गर्न नगएकै हो,” सुवेदीले भने ।
नेकपा एमाले निकट अनेरास्ववियु बाहेक अन्य विद्यार्थी संगठनले विद्यार्थीको नामावली सार्वजनिक गर्दा नाम ठेगाना र मोबाईल नम्बर सहित सार्वजनिक गर्नु पर्ने माग राखेको भए पनि निर्वाचन समिति उक्त कुरामा सहमत नहुदा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी र नेकपा एस निकट अनेरास्ववियुले निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेका छ्न ।
प्रकाशित : २०८१ फागुन २१ गते १८:५२
Facebook Comment