कावासोती । नवलपुरको कावासोती नगरपालिका १० वडा कार्यालयका जनप्रतिनिधि र कर्मचारीहरु वडा कार्यालयको काम नै ठप्प पारेर भ्रमणमा गएका छन् ।
४ दिन लामो विदा पारेर १३ फाल्गुनमा भ्रमण गएका टोली ६ दिन वितिसक्दा पनि १८ फाल्गुन आइतबार सम्म भ्रमण सकेर फर्किएका छैनन् । वडा कार्यालयमा अहिले कुनै पनि जनप्रतिनिधि र कर्मचारी छैनन । स्थानीय बासिन्दाका अनुसार जनप्रतिनिधि नहुँदा वडा कार्यालयको सबै सेवा ठप्प रहेको छ ।
वडा कार्यालय भने हुलाकका कर्मचारीले रुघेर बसेका छन् । कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले ७ दिनको भ्रमणका लागि वडा कार्यालयको जनप्रतिनिधि र कर्मचारी पश्चिम नेपाल भ्रमण गएको जानकारी दिए । पौडेलका अनुसार भ्रमण गएका टोली १९ गते सोमबार मात्र फर्कने छन् ।
पौडेलले भने – ‘कार्यालय नै ठप्प पारेर भ्रमण जाने त होइन । अब जनप्रतिनिधिहरुले गरेको काममा हामीले रोक्न मिलेन ।’ पौडेलका अनुसार उनीहरु पश्चिम नेपालका स्थानीय तहहरुको अवलोकनका लागि भ्रमण गएका हुन् ।
कावासोती नगरपालिकाका सूचना अधिकारी मुक्तिप्रसाद बस्यालले कार्यालयको काम नरोकिने गरी कम्तिमा एक जना जनप्रतिनिधि र एक जना कर्मचारी कार्यालयमा राखेर मात्र भ्रमण जानु पर्ने भए पनि केही वडाहरुले त्यसको पालना नगरेको बताए ।
यसै बिच वडामा जनप्रतिनिधि नभए पछि शवको मुचुल्का उठाउन समेत समस्या भएको छ । स्थानीय एक व्यक्तिले आत्महत्या गरेपछि उक्त शवको मुचुल्कामा हस्ताक्षर गर्ने जनप्रतिनिधि नहुदा नगरप्रमुख विष्णुप्रसाद भुसाल पुगेर मुचुल्कामा हस्ताक्षर गरेका एक स्थानीयले बताए ।
यस विषयमा जानकारी लिन कावासोती १० का वडाध्यक्ष टेक नारायण महतोसँग सम्पर्क गर्न खोज्दा उनको मोबाइल सम्पर्क हुन सकेन । स्थानीय बासिन्दाले भने वडाका जनप्रतिनिधिहरु र कर्मचारीहरुले पश्चिम नेपाल भ्रमणको बाहनामा भारतको पर्यटकीय क्षेत्र घुम्न गएको दावी गरेका छन् ।
प्रकाशित : २०८१ फागुन १८ गते १५:४१
Facebook Comment