सन्जय भट्टराई, कावासोती । गण्डकी प्रदेश सरकार अन्तर्गतको पर्यटन तथा उद्योग कार्यालय नवलपुरमा कार्यालय प्रमुख नहुदा कार्यालयले दिने सेवाहरु ठप्प भएका छ्न ।
नवौं तहको उपसचिव दरबन्दी रहने कार्यालय प्रमुख पद गत मंसिर १८ गते देखि खाली रहेकाले विभिन्न काम लिएर कार्यालय आउने सेवाग्राहीहरुलाई सास्ती भएको हो ।
पर्यटन तथा उद्योग कार्यालयमा रहेका उपसचिव टेकबहादुर मौनी लोकसेवा आयोगबाट नाम निकालेर संघमा गए पछि कार्यालय प्रमुखको दरबन्दी रिक्त भएको कार्यालयका सूचना अधिकारी खडकबहादुर थापाले जानकारी दिए । कार्यालय प्रमुख नहुदा प्रदेश सरकार बाट चालु आवमा विनियोजित बजेटमा परेका योजनाहरुको सम्झौता गर्ने काम ठप्प भएको छ ।
यस अघिका कार्यालय प्रमुखले अधिकृत स्तर छैटौंका कर्मचारी एवं सूचना अधिकारी खडकबहादुर थापालाई निमित्तको जिम्मा दिएको भए पनि आर्थिक अधिकार नभएकाले सम्झौताका कामहरु रोकिएको हो । त्यो बाहेक कार्यालयमा सब ईन्जिनियरको दरबन्दी पनि यति बेला खाली रहेको छ । योजना सम्झौतामा सब ईन्जिनियर नहुँदा समेत समस्या परेको छ ।
कुल १३ जनाको दरबन्दी रहेको कार्यालयमा हाल १ जना स्थायी र ४ जना करारका कर्मचारी रहेका छ्न । ४ मध्य १ जना कम्प्युटर अपरेटर, १ जना हलुका सवारी चालक र २ जना कार्यालय सहयोगी रहेका निमित्त प्रमुख एवं सूचना अधिकारी थापाले बताए ।
कार्यालयमा कार्यालय प्रमुखको दरबन्दी रिक्त भए पछि काम गर्न असहज भएको जानकारी आफुहरुले प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालयमा लिखित रुपमा गराएको थापाले बताए । “प्रमुख नहुदाँको समस्या मातहतको मन्त्रालयमा गराएका छौ, छिट्टै समाधान होला”, थापाले भने । यो कार्यालयमा चालू आ.वमा मात्रै प्रदेश अन्तर्गतको २४ वटा योजना रहेका छ्न जस मध्य एउटा योजनाको मात्रै सम्झौता भएको छ ।
कार्यालय प्रमुखको पदास्थापन मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट हुने भएकाले आफुहरुले नयाँ कार्यालय प्रमुख पठाउन मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पठाई सकिएकाले अब केही दिनमै कार्यालय प्रमुख आईपुग्ने गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालयका सचिब कुमानसिंह गुरुङले बताए । त्यो बाहेक अन्य कर्मचारी सहित सिभिल ईन्जिनियर लगाएतका पदमा दरबन्दी या नभए करारबाट पदपूर्ति हुने गरि प्रक्रिया अगाडि बढाईएको उनको भनाई थियो ।
प्रकाशित : २०८१ पुष २ गते १६:२३
Facebook Comment