उपचुनावमा रास्वपाको खराब नतिजा, १० जनाले कटाएनन् ५० मत

NAWALPUR TIMES
प्रकाशित : २०८१ मंसिर १८ गते १२:००
उपचुनावमा रास्वपाको खराब नतिजा, १० जनाले कटाएनन् ५० मत

कावासोती । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौं महानगरपालिका वडा नम्बर १६ को वडाध्यक्ष पद जितेको छ । यो पदमा रास्वपाकी उम्मेदवार रोजिना श्रेष्ठ विजयी भइन् । रास्वपाकी श्रेष्ठ २९०२ मत ल्याएर निर्वाचित हुँदा एमालेका लक्ष्मीरत्न तुलाधर २२२० मत ल्याएर दोस्रो भए ।

तर, अन्यत्र रास्वपाले पाएको मत निकै कम छ । स्थानीय तहका विभिन्न ४४ पदका लागि भएको चुनावमा रास्वपाले २६ पदमा पदमा उम्मेदवार खडा गरेको थियो । त्यसमध्ये एउटा पदमा चुनाव जित्दा अधिकांश ठाउँमा जमानत जफत हुने अवस्था बनेको छ । जमानत जोगिन कुल सदर मतको १० प्रतिशत मत ल्याउनुपर्छ ।

 

कहाँ कति मत ?
रास्वपाले मोरङको ग्रामथान गाउँपालिका अध्यक्षको चुनावमा उम्मेदवारी दिएको थियो । यो पालिकाको अध्यक्षमा माओवादीका नमो नारायण माझी ६ हजार ९६९ मत ल्याएर विजयी हुँदा रास्वपाका उम्मेदवार नविन कुमार विश्वास ३७५ मतसहित पाचौं स्थानमा रहे ।

ताप्लेजुङको सिरीजंगा गाउँपालिका वडा नम्बर ३ मा उपचुनाव भएको थियो । यो वडामा एमालेका कुमारी सावादेन ३५३ मत ल्याएर विजयी भए । यहाँ ७ मत ल्याएर रास्वपा उम्मेदवार देवी प्रसाद पौडेल पाचौं स्थानमा रहे ।

तेह्रथुमको लालीगुँरास नगरपालिका वडा नम्बर ८ को वडाअध्यक्षमा कांग्रेसका नगेन्द्र लिम्बु ४४० मत ल्याएर विजयी भए । यहाँ रास्वपा उम्मेदवार सन्जिव खड्काले ३८ मत पाए ।

सुनसरीको गढी गाउँपालिका वडा नम्बर ६ को अध्यक्षमा कांग्रेसका तेतर साहु ८१६ मत ल्याएर विजयी हुँदा पाँचौं स्थानमा रहँदै रास्वपाका उम्मेदवार शशिकुमार साहुले ३३ मत ल्याए ।

ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नम्बर ५ को अध्यक्षमा एमालेका गंगाबहादुर तामाङले ३९९ मत ल्याएर चुनाव जित्दा तेस्रो स्थानमा रहँदै रास्वपा उम्मेदवार विष्णु प्रसाद पोखरेलले १५१ मत ल्याए ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ मा माओवादी केन्द्रका उम्मेदवार नविन कुमार वान्तवा ९२३ मत ल्याएर विजयी भए । यहाँ पनि पाँचौं स्थानमा रहँदै रास्वपा उम्मेदवार ध्रुव प्रसाद पोखरेल २०२ मत ल्याए ।

धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १ मा माओवादी केन्द्रका शुनिल कापर केवट ६८४ मत ल्याएर विजयी भए । यहाँ सातौं स्थानमा रहँदै रास्वपा उम्मेदवार राम नरेश दासले जम्मा १० मत पाए ।

महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ मा एमालेका उम्मेदवार सकिवुल खाँ ६३१ मत ल्याएर विजयी हुँदा छैटौं स्थानमा रहँदै रास्वपाका उम्मेदवार खुरसैद खाँले ४ मत पाए ।

नुवाकोटाको ककनी गाउँपालिका वडा नम्बर २ मा माओवादी केन्द्रका कृष्ण घिमिरे १०८५ मत ल्याएर विजयी हुँदा रास्वपाका उम्मेदवार मंगल सिद्धि लामा तामाङ ८३ मतसहित चौथो स्थानमा रहे ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा कांग्रेसका अर्जुनप्रसाद तिवारी २०६३ मत ल्याएर विजयी भए । पाँचौँ स्थानमा रहँदै रास्वपाका उम्मेदवार आशा विर बलले ८३ मत प्राप्त गरे ।

गोरखाको गोरखा नगरपालिका वडा नम्बर ५ मा माओवादीका विष्णुबहादुर मगर ४८६ मत ल्याएर विजयी हुँदा रास्वपाका मंगलबहादुर थापाले चौथो स्थानमा रहँदै ८२ मत ल्याए ।

गुल्मीको मुसीकोट नगरपालिका वडा नम्बर १ मा कांग्रेसका आनन्द श्रेष्ठ ११८४ मत ल्याएर विजयी हुँदा रास्वपाका उम्मेदवार विकास थापाले ४३ मत पाए ।

कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ मा एमालेका मोहम्मद ताहिर मुसलमान ११५० मत ल्याएर विजयी हुँदा रास्वपाका उम्मेदवार अवधेश कुमार चौधरी छैठौं स्थानमा रहे । चौधरीले ९२ मत पाए ।

बर्दियाको ठाकुरबाबा नगरपालिकाको वडा नम्बर ४ को अध्यक्षमा कांग्रेसका अमिन थारु विजयी भए । थारुले १०४३ मत पाउँदा रास्वपाका उम्मेदवार वासुदेव शर्माले छैठौं स्थानमा रहँदै १७ मत ल्याएका छन् ।

दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १३ मा एमालेका लालबहादुर शाही ५७४ मत ल्याएर विजयी भए । चौथो स्थानमा रहँदै रास्वपाका उम्मेदवार रामबहादुर शाहीले ५३ पाए ।

दैलेखकै महाबु गाउँपालिकाको अध्यक्षमा पनि रास्वपाले प्रकाश कुमार बुढालाई उम्मेदवार बनाएको थियो । यहाँ एमालेका जंगबहादुर शाही ३१२७ मत ल्याएर विजयी हुँदा रास्वपाका बुढाले ११२ मत पाए ।

रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ४ मा एमालेका भुपमणी पुन मगर ६४३ मत ल्याएर विजयी भए । यहाँ हिम बहादुर पुन रास्वपाका उम्मेदवार थिए । उनले जम्मा ७ मत पाए ।

कालिकोटको तिलागुफा नगरपालिका वडा नम्बर ४ मा नेमकिपाका खड्ग राज शाही १४३ मत ल्याएर विजयी भए । यहाँ रास्वपाका उम्मेदवार गगन बलमे छैठौं स्थानमा रहँदै ५ मत ल्याए ।

जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा रास्वपाबाट उम्मेदवार थिइन पार्वती पुन । यहाँ माओवादीकी देवका लामिछाने ४ हजार २७२ मत ल्याएर विजयी भइन । रास्वपाका पुनले चौथो स्थानमा रहँदै १७९ मत ल्याइन् ।

डोटीको पुर्वीचौकी गाउँपालिका वडा नम्बर ६ मा कांग्रेसका मोहन थापा ४६८ मत ल्याएर विजयी भए । यहाँ तेस्रो भएकी रास्वपाका उम्मेदवार जानकी कुमारी खड्का कुँवरले ३१ मत ल्याइन् ।

कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर ६ को अध्यक्षमा भएको चुनावमा कांग्रेसका प्रकाश चन्द ११०७ मत ल्याएर विजयी भए । यहाँ पाचौं स्थानमा रहँदै रास्वपाका रामदत्त भट्टले २१८ मत ल्याए ।

रास्वपाले उम्मेदवार बनाएकोमध्ये उदयपुरको बेलका, हुम्लाको सर्केगाड र दोलखाको गौरीशंकरको परिणाम आउन बाँकी छ । यी क्षेत्रमा पनि रास्वपाको नतिजा कमजोर देखिएको छ । कीर्तिपुर नगरपालिकामा भने रास्वपाले उम्मेदवारी नै दिएको छैन ।

प्रकाशित : २०८१ मंसिर १८ गते १२:००
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI